काठमाडौं । बागलुङ नगरपालिका-११ रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको छ ।
पहिराेले ११ घरपरिवार करिब एक सातादेखि प्रभावित बनेका छन् । घरमाथि पहिरो थुप्रिएर बसेका कारणा उनीहरू घरमा बस्न पाएका छैनन् ।
पहिराेले केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन् । पहिराेले बग्ने डरले अधिकांश घरपरिवारले घर खाली गरेर अन्यत्र बसेका छन् ।
डाँडै खसेपछि जोखिममा परेको बागलुङ नगरपालिका-११ को रायडाँडास्थित रामतोलामा नगरप्रमुख र उपप्रमुखसहित सुरक्षा निकाय पुगेका छन् ।
एक साताअघि खसेको पहिरो अनुगमन गरेर बस्तीको सुरक्षाबारे टोलीले योजना बनाउने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए ।
पहिरोका कारण रामतोलाका गैराघर भन्ने स्थानमा एक दर्जन घर जोखिममा परेका छन् । पहिराेले रामतोलाको बस्तीमा जोखिम पर्नुका साथै खानेपानी र विद्युतका पोल पनि बगाएको छ ।
स्थानीय ढालनाथ शर्माले पानीका दुईवटा ट्यांकी नै बगेकाले खानेपानीको हाहाकार भएको बताए । उनले भने, ‘हामी त घर न घाटको भएका छौँ । अब कहाँ बस्ने के खाने ?’
उनले दुःख गरेर बनाएको घरगोठ भत्केपछि नयाँ बनाउने चिन्ताले सताएको बताए । उनले अनुगमन टोलीसँग पनि आफ्नो दुःख व्यक्त गरेका छन् । टोलीमा समितिका अन्य पदाधिकारी तथा सुरक्षा प्रमुखहरू थिए ।
पहिराेले दुईवटा खानेपानीका ट्यांकी बगाएपछि सात दिनदेखि तल्लो रामतोला बस्तीमा खानेपानीको अभाव भएको छ । बिजुली नभएपछि स्थानीयले झाडी फाँडेर नयाँ पोल गाड्ने र तार टाँग्ने काम गरिरहेका छन् ।
यहाँका दर्जनौँ विद्युतका पोल ढलेकाले जतासुकै तार लत्रेको देख्न सकिन्छ । तल्लो रामतोला एक सातादेखि अन्धकार बनेकाे स्थानीय नन्दकली केसीले बताइन् ।
उनले भनिन्, ‘अहिले टोली आएको छ भनेर घरमा आइयो, नत्र हामी गाउँ छाडेर बसेका छौँ । अनुगमन आएकाले मात्र आएका हाैँ । नत्र रित्तो घरमा आउन मनै लाग्दैन ।’
रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै गएकाे छ ।
दशकअघि खुलेको सडकको ट्रयाक र खरबारीमा रहेका पानीका ट्यांकीबाट रसाएको पानीले पहिरो खसेको स्थानीयले अनुमान गरेका छन् ।
अनुगमन टोलीले पनि पानीकै कारण पहिरो खसेकाे अनुमान लगाएकाे छ । पहिराे गएकाे एक सातापछि पुग्दा पनि पहिरो निरन्तर खसिरहेकाे अनुगमन टाेलीले जनाएकाे छ । निरन्तर पहिराे खसेकोले आसपासमा पुग्न पनि जोखिम छ ।
पहिराेले जैमिनी नगरपालिका-१ को ओडारका घरमा पनि जोखिम बनाएको छ । नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बस्तीलाई सुरक्षित स्थानमा राख्न सके राम्रो हुने बताए ।
प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले एकीकृत बस्तीको अवधारणा ल्याएर बस्ती सार्न सके राम्रो हुने धारणा व्यक्त गरे ।
उनले यसका लागि पहल गर्न वडाध्यक्षलाई आग्रह गरेको बताए । एकीकृत बस्ती बनाउन सकेमा खानेपानी, विद्युत् र अन्य सेवा जडानमा सहज हुने जनाइएको छ ।
निरन्तर पहिरो खसिरहेकाले उक्त बस्तीमा सहजै बस्न सकिने अवस्था छैन । पहिरो नियन्त्रण गर्ने अवस्था नभएको प्राविधिकको सुझाव छ ।
अहिले पहिराे विस्तारै खसेकाले समयमा घरपरिवार सार्न सकिए पनि पुनः घर फर्कने वातावरण बनाउन कठिन हुने उनले बताए ।
उनले भने, ‘सात-आठ घर त पहिरो खस्दा खस्दै सार्न लगायौँ, उहाँहरू अहिले सुरक्षित स्थान खोजेर बस्नुभएको छ । पहिराेले निरन्तर दबाब दिएर बस्तीमा चिरा परेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij