Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

नवलपुर २ : चौधरीलाई चुनौती !

नवलपुर २ : चौधरीलाई चुनौती !

  • 559
    SHARES
  • नवलपुर २ : चौधरीलाई चुनौती !

    काठमाडौं । पछिल्लो समय उद्योगपति विनोद चौधरी प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसबाट उम्मेदवार हुन निकै दौडधुपमा छन् । चुनाव लड्न उनले नवलपुर क्षेत्र २ लाई प्राथमिकतामा राखेर आफ्नो गतिविधि अघि बढाएका छन् । तर उनलाई त्यो क्षेत्रबाट टिकट पाउन र चुनाव जित्न चुनौतीको सामना गर्नुपर्ने देखिएको छ ।

    त्यही क्षेत्रमा गत चुनावमा उम्मेदवार भएर हारेका कांग्रेसका विष्णु कार्की प्रभावशाली मानिन्छन् । वाम गठबन्धन हुँदा करिब १३ सय मतले हारेका कार्की यसपटक गठबन्धन आफ्नो पक्षमा भएकाले जित्नेमा ढुक्क छन् । पार्टी सभापति शेरबहादुर देउवासँग निकट सम्बन्ध भएका कार्की चुनाव हारेपछि पनि निरन्तर आफ्नो क्षेत्रमा क्रियाशील छन् । उनी यो चुनावमा पनि उम्मेदवार हुनका लागि क्षेत्रका जनतासँग निरन्तर निकट भएर क्रियाशील रहँदै आएका हुन् । नवलपुर २ का जनताबीच उनको प्रभाव राम्रो रहेको स्थानीय बताउँछन् ।

    आर्थिक रूपमा पनि सक्षम कार्की समाजिक काममा अग्रणी भएर जुट्दै आएका छन् । कार्कीको सक्रियता र रुचि हुँदासम्म चौधरीलाई सहजै टिकट हात पार्न कठिन हुने स्थानीयको आकलन छ । ‘विष्णु कार्कीले यसपटक टिकट लिन प्रयास गर्नु हुन्छ कि हुन्न भन्ने मुख्य कुरा हो,’ नवलपुरका एक कांग्रेस नेता भन्छन्, ‘कार्कीजीले चाहेसम्म उहाँ नै टिकटको प्रमुख दाबेदार हो ।’

    उद्योगपतिको रूपमा ख्याति कमाए पनि प्राय: काठमाडौंमै बस्ने चौधरी कार्यकर्ता र मतदाता माझ खासै भिजेका छैनन् । पैसाका कारण ठूला नेतासँग निकटता भए पनि मतदाता र कार्यकर्ता तहमा उनको निकटता कार्कीको तुलनामा निकै कम छ ।

    चौधरीले कार्कीलाई नमिलाएसम्म टिकट र जित दुबै अनिश्चित छ । नेतृत्वसँगको प्रभावले टिकट ल्याए पनि जितका लागि कार्कीको सहयोग उनलाई अपरिहार्य रहने स्थानीयको भनाइ छ ।

    ‘हामीलाई चाहिँदा जतिबेला पनि उपलब्ध हुने भनेको विष्णु कार्की नै हुन्,’ एक स्थानीय कांग्रेस भन्छन्, ‘विनोद चौधरी हुँदा पनि यो क्षेत्रका लागि त राम्रै हो तर विष्णु कार्कीको सहयोग नभइ उनलाई जित्न कठिन छ ।’

    चौधरीको नाम नवलपुर १ बाट पनि सिफारिस भएको छ । तर त्यो क्षेत्रमा डा.शशांक कोइराला पनि उम्मेदावर बन्ने लाइनमा छन् । कोइराला उम्मेदवार हुन चाहेसम्म चौधरीले त्यहाँको टिकट पाउन  सम्भव छैन । चौधरीको नवलपरासी १ बाट पनि सिफारिस भएको छ । उनले नवलपुरका दुबै स्थानबाट टिकट नपाएको खण्डमा नवलपरासीबाट चुनाव लड्नु पर्ने हुन्छ ।

    गठबन्धन भए पनि नवलपुरका दुबै क्षेत्र कांग्रेसकाे भागमा पर्ने बढी सम्भावना छ । त्यहाँका दुबै क्षेत्रमा कांग्रेसकाे सिधा प्रतिस्पर्धा एमालेसँगै हुने देखिन्छ ।

    प्रतिनिधिसभा चुनावमा प्रत्यक्ष लड्न चौधरीले यसपटक अभियान नै चलाएका छन् । उनले काठमाडौंमा पनि आफ्नो पक्षमा माहोल बनाउने कुनै कसर बाँकी राखेका छैनन् । जिल्लामा पनि उनले निकै मेहनत जारी राखेका छन् । गत चुनावमा समानुपातिबाट कांग्रेसले उनलाई सांसद बनाएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij