वेबटिभी खबर
तनहुँ । तनहुँ डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा ८ वटा पार्क निर्माण गर्ने भएको छ । संघीय सरकारको ६० लाख र प्रदेश सरकारको २० लाख गरी ८० लाखको लागतमा पार्क निर्माण गर्न लागिएको हो ।
उक्त कार्यालयले जिल्लाका विभिन्न स्थानमा पर्यावरण व्यवस्थापनका लागि पार्क निर्माण गर्न बजेट विनियोजन गरिएको जनाएको छ । संघीय सरकारमार्फत विनियोजित बजेटबाट चार वटा पार्क निर्माण गरिने कार्यालयका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए ।
भानु नगरपालिका-१३ मिर्लुङमा २० लाख र बन्दीपुर गाउँपालिकामा २० लाखको लागतमा सहिद स्मृति पार्क निर्माणका लागि बजेट प्राप्त भएको उनले बताए ।
शुक्लागण्डकी नगरपालिका-८ ढोरफिर्दीस्थित सहिद कृष्ण पार्क संरक्षण तथा व्यवस्थापनका लागि १० लाख र ऋषिङ गाउँपालिका-७ स्थित सहिद पार्क निर्माणका लागि १० लाख प्राप्त भएको उनले जानकारी दिए ।
त्यसैगरी प्रदेश सरकारमार्फत चार वटा पार्क निर्माण गर्न २० लाख बजेट विनियोजन भएको छ । म्याग्दे गाउँपालिका-१ टाइगरहिलस्थित बेलडाँडा हरित पार्क निर्माणका निम्ति पाँच लाख, भिमाद नगरपालिका-७ स्थित श्रीकृष्ण सहिद हरियाली पार्कलाई पाँच लाख, व्यास नगरपालिका-८ स्थित सोतीवेशी सहिद हरियाली पार्कलाई पाँच लाख र घिरिङ गाउँपालिका-२ डुम्रीवेशीस्थित सागुमुख हरित पार्कलाई पाँच लाख बजेट विनियोजन भएको हाे ।
‘पर्यावरणमा टेवा पुर्याउन भनेर बजेट विनियोजन हुन्छ । बजेट विनियोजन भएको स्थानका उपभोक्ता समितिमार्फत पार्क निर्माणको काम गरिन्छ’, उनले भने, ‘स्थान नै तोकिएर बजेट प्राप्त हुने भएकाले अन्यत्र सार्न मिल्दैन।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij