वेबटिभी खबर
बाग्लुङ । बागलुङ बजारकी नम्रता शर्माको घरमा विद्युतीय चुलो प्रयोग भएको चार महिना भयो । रुस-युक्रेन युद्धका कारण विश्वबजारमा पेट्रोलियम एवम् ग्यासको मूल्यमा भारी वृद्धि भएपछि उनले चार हजार खर्चेर विद्युतीय चुलो खरिद गरेकी थिइन् ।
खाना पकाउने एलपी ग्यासको निरन्तर मूल्यवृद्धिका कारण आम उपभोक्ता विद्युतीय (इन्डक्सन) चुलोप्रति आकर्षित हुन थालेका छन्।
‘ग्यासको मूल्य एक हजार तीन सय थियो, विद्युतीय चुलोका विषयमा सोचेकै थिइन, जब रुस-युक्रेन युद्धका कारण ग्यासको मूल्यमा निरन्तर उकालो लाग्यो त्यसपछि ग्याससँगै विद्युतीय चुलो प्रयोग गर्ने निधो गरे’, शर्माले भनिन् ।
‘पहिलो महिना त धेरै विद्युत् महशुल उठ्छ कि भन्ने चिन्ता थियो तर ग्यासभन्दा निकै सस्तो पर्यो, अहिले भात दाल विद्युतीय चुलोमै पकाउने गरेको छु भने तरकारी मात्रै ग्यासमा पकाउने गरेको छु ।’
ग्यासको विकल्पमा विद्युतीय चुलो प्रयोग गर्न थालेपछि दुई महिनामा सकिने ग्यास सिलिन्डर चार महिना बित्दासमेत नसकिएको बताउँदै उनले सुरुको विद्युतीय चुलोको लगानी नजोड्ने हो भने लगभग विद्युतीय चुलोमा दोब्बर फाइदा हुने बताइन् ।
बाग्लुङ बजारमा पछिल्लो समय विद्युतीय चुलोको माग उच्च रहेको विद्युतीय उपकरण बिक्री कर्ताले बताए । विद्युतीय चुलो धेरै पहिलेदेखि बिक्री भए पनि पछिल्लो समय परिमार्जन भएर आएको विद्युतीय चुलोको माग ह्वात्तै बढेको बाग्लुङ बजारको शंकर इलेक्ट्रिोनिक्सका सञ्चालक शंकर नकर्मीले बताए ।
‘पहिला विद्युतीय चुलोमा जुनसुकै भाँडा मिल्दैनथ्यो, भाँडा छुट्टै खरिद गर्दा महँगो र झन्झट थियो तर पछिल्लो समय बजारमा आएका विद्युतीय चुलो घरमा प्रयोगमा आइराखेका जुनसुकै भाँडा प्रयोग गर्न मिल्छ’, उनले भने ।
‘अहिले ग्यास चुलोभन्दा विद्युतीय चुलो खरिद गर्ने उपभोक्ता दोब्बरले वृद्धि भएका छन्, अहिले बाग्लुङ बजारवासीका अधिकांश भान्छामा विद्युतीय चुलो प्रयोगमा आएको देखिन्छ ।’
नकर्मीका अनुसार ग्यास विस्थापित नभएपनि त्यसको विकल्पमा विद्युतीय चुलो प्रयोग हुँदा ग्यास खपतमा कमी आएको र उपभोक्तालाई केही राहत मिलेको छ । विद्युतीय चुलो चलाउनका लागि न्यूनतम १५ एम्पियर क्षमताको मिटर जडान गर्नुपर्ने हुन्छ ।
बाग्लुङ बजारका पक्की घरमा धेरैले १५ एम्पिएर भन्दामाथि क्षमताको विद्युत् जडान गरेका छन् । सरकारले विद्युतीय चुलो प्रवर्द्धन गर्न प्रत्येक घरधुरीमा निःशुल्क विद्युतीय चुलो वितरण गर्ने योजना अघि सारेको छ ।
बीस वर्ष अगाडि खाना पकाउनका लागि सबैभन्दा बढी खर्चिलो मानिएको विद्युत् अहिले सबैभन्दा सस्तो भएको हो । बाग्लुङ बजार क्षेत्रमा विद्युतीय चुलोको माग बढिरहेको भए पनि विद्युतको नियमित आपूर्तिमा समस्या हुनसक्ने भन्दै विकल्पमा ग्यास प्रयोग गरिरहेको पाइन्छ ।
ग्यास उपभोक्ताले विस्तारै आफूहरूले भान्छामा विद्युतीय उपकरणको प्रयोग वृद्धि गर्दै लगेका छन् । भान्छामा विद्युतीय चुलोसँगै मिक्चर, फ्रिजलगायत उपकरणको प्रयोगले विद्युतको खपतमा वृद्धि भइरहेको छ ।
विद्युतीय चुलोको प्रयोगमा करिब ४० प्रतिशत सस्तो हुने गरेको छ । विद्युतीय चुलो विशेषगरी बाग्लुङ बजारका पक्की घरमा बढी प्रयोग भइरहेको नेपाल विद्युत प्राधिकरण बाग्लुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले जानकारी दिए ।
उनले क्रमशः घरमा विद्युतीय क्षमता बढाउने उपभोक्ताको संख्या वृद्धि भइरहेको बताए । ‘विद्युतीय चुलोको प्रयोग बढिरहेको छ तर पक्की घरमा यसको प्रयोग सहज भए पनि कमजोर विद्युतीकरण भएको घरमा समस्या हुन्छ, विस्तारै विद्युत् ट्रान्सर्फरमरको समेत क्षमता बढाउन आवश्यक छ’, केन्द्रका प्रमुख मरासिनीले भने ।
‘घरमा विद्युत् क्षमता थपेर विद्युतीय चुलो प्रयोग गर्दा जोखिम कम हुने र फाइदा बढी हुने गर्छ ।’ अहिले ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय पुगेको छ, भने एक परिवारका लागि खाना पकाउन विद्युतबाट मासिक सात सय ५० र ग्यासबाट एक हजार दुई सय बढी खर्च लाग्ने भएकाले विद्युतीय चुलो सस्तो र छिटो हुने अध्ययनले देखाइसकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij