वेबटिभी खबर
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध रहेको बताएका छन् ।
जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले आज सिंहदरबारमा गरेको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको जानकारी दिँदै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताए ।
त्यसक्रममा प्रधानमन्त्री देउवाले चीनविरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न नदिइने प्रतिबद्धता जनाए । उनले नेपालको आर्थिक सामाजिक क्षेत्रमा विगत लामो समयदेखि चीनले गर्दै आएको सहयोगको प्रशंसा गरे ।
सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग भएको सम्झौताप्रति खुसी व्यक्ति गर्दै प्रधानमन्त्री देउवाले उक्त सम्झौताले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउने विश्वास व्यक्त गरे ।
अध्यक्ष चान्शुले दुई देशबीच छ दशकभन्दा लामो समयदेखि असल छिमेकीका रुपमा मैत्रीपूर्ण सम्बन्ध स्थापित हुँदै आएको बताए ।
उनले चीनमा हालै गएको भूकम्पमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति धन्यवाद दिए । अध्यक्ष चान्शुले सन् १९६० को दशमा तत्कालीन प्रधानमन्त्री बीपी कोइराला र चिनियाँ नेतृत्वबीच भएको समझदारी, भेटघाट र भ्रमणको स्मरण पनि गरे ।
उनले नेपालले आउँदो असोज ३ मा मनाउन लागेको नेपालको संविधान दिवसको शुभकामना पनि दिए । उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका सन्दर्भमा चीन गम्भीर र सचेत रहेको पनि बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij