वेबटिभी खबर
सिन्धुपालचोक । पाँचपोखरी थाङपाल गाउँपालिका-४ रैथानेको लुत्ती तामाङले अचेल आफ्नो बच्चालाई लिटो र जाउलो खुवाउन थालेकी छिन् । दोस्रो सन्तानलाई लिटो र जाउलो खुवाएकी तामाङले यसअघि चाउचाउ र विस्कुटलाई पोसिलो खानाकारूपमा लिँदै आएकी थिइन् ।
बजारका जंकफुडको तुलनामा आफ्नै घरमा बन्ने खाना बच्चाको लागि बढी पोसिलो हुने जानकारी पाएपछि उनले आफ्नो दोस्रो सन्तानलाई लिटो, जाउलो जस्ता खाना खुवाउन थालेकी हुन् ।
सुआहारा कार्यक्रममार्फत बालबालिकालाई आवश्यक पोषणको विषयमा जानकारी पाएपछि उनी बच्चालाई खुवाउने खानामा चार प्रकारका तत्व मिसिएको छ कि छैन भन्नेमा पनि सचेत छिन् ।
उनले आफ्नो बच्चाको खानामा ‘हरेक बार खाना चार’ भन्ने सिद्धान्तलाई अंकिकार गर्दै अन्न, गेडागुडी, हरियो सागपात र पहेँलो फलफूल तथा पशुजन्य उत्पादन मिलाउने गरेको जानकारी दिइन् ।
युएसएआइडीको सहयोगमा सञ्चालित सुआहारा कार्यक्रमले बालबालिकाको पोषणको विषयमा जानकारी गराएपछि उनी आफ्नो सन्तानको खानामा ध्यान दिन थालेको उनको भनाई छ ।
टुकी सँघ सुनकोशी र सुआहारा कार्यक्रमका सामाजिक परिचालक र महिला स्वास्थ्य स्वयं सेविकाले दुई वर्षसम्म ८० प्रतिशत मस्तिष्कको विकास हुने भएकाले यो अवधिमा उनीहरूको खानामा ध्यान पुर्याउनुपर्ने जानकारी दिएपछि उनले सबै खानेकुरा खुवाउन थालेकी हुन् ।
तामाङ मात्र हैन जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिका महिलाले आमा र बच्चाको स्वास्थ्यमा ध्यान दिन थालेका छन् । हतारमा जुन अवस्थामा भेटिन्छ त्यही अवस्थामा खाना बनाउने र खुवाउने गर्दै आएका आमाहरूले साबुन पानीले हात नधोइ खानेकुरा छुन् ।
मेलम्ची नगरपालिका-९ की गमला गिरी सुआहाराको पहलमा नियमित बैठक बस्न थालेपछि पारिवारिक स्वास्थ्य र सरसफाइमा सचेत भएकी छिन् ।
जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्वयमा सुआहाराले पोषण, सरसफाई, पारिवारिक स्वास्थ्यलगायत क्षेत्रमा काम गरिरहेको सुआहाराका जिल्ला संयोजक मनोज मिश्रले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij