Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सिन्धुलीमा लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान

सिन्धुलीमा लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान

  • 328
    SHARES
  • सिन्धुलीमा लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान

    सिन्धुली । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको जोखिम सिन्धुलीमा बढेको छ । छोटो अवधिमै डेंगु रोगका बिरामीको संख्या बढेको सिन्धुली अस्पतालका डा .सागर देवकोटाले जानकारी दिए ।

    दैनिक दुई/तीन बिरामीमा डेंगु संक्रमण देखिएको उनको भनाइ छ । साउनयता मात्रै बिरामी भएर अस्पताल आएका ९७ जनामा उक्त रोग देखिएको जनाइएको छ । उनले भने, ‘सबैभन्दा बढी कमलामाई नगरपालिकामा ७४ जनामा डेंगुको संक्रमण भएको पाइयो ।’

    यसैगरी दुधौली नगरपालिकामा सात, गोलञ्जोर गाउँपालिकामा पाँच, तीनपाटन गाउँपालिकामा चार, मरिण गाउँपालिका र घ्याङलेख गाउँपालिकाका तीन/तीन जनामा डेंगु भाइरसको संक्रमण भएको पाइएको छ ।

    तीमध्ये १२ बिरामी अस्पतालको शय्यामा उपचारत छन् । केही बिरामी चिकित्सकको सल्लाहमा घरमै आराम गरिरहेका उनले बताए । १० जना डेंगुका बिरामीलाई भने उपचारमा आवश्यक पर्ने रगत प्लेटलेट्सको अभावका कारण अन्यत्र पठाउनु परेको डा.देवकोटाले जानकारी दिए ।

    यो तथ्यांक साउन १ देखि भदौ २८ सम्मको हो । डेंगुको संक्रमण जिल्लामा तीव्रगतिमा फैलिरहेको उनको अनुमान छ । डेंगुको लक्षण देखिएका कतिपय बिरामी घरमै तातोपानी खाने, सिटामोलको प्रयोग गरी बसेकाले जिल्लामा बिरामीको यकिन तथ्यांक संकलन हुन नसकेको उनले बताए ।

    कमलामाई नगरपालिकाले नगर स्वास्थ्य शाखामार्फत डेंगु नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेर लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने टोली परिचालन गरेको नगरप्रमुख उप्रेन्द्रकुमार पोखरेल जानकारी दिए ।

    मंगलबारदेखि नगरका स्वास्थ्य शाखाका कर्मचारी र नगर स्वास्थ्य स्वयंसेविकाको टोली लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने काममा परिचालित भएका हुन् ।स्वास्थ्य कार्यालयको समन्वयमा डेंगु नियन्त्रणका लागि स्प्रे छर्किने तयारी भएको उनले बताए ।

    डेंगु संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालय, सिन्धुली अस्पताललगायत पालिकाका स्वास्थ्य शाखा र स्वास्थ्य संस्थाले संयुक्तरूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएका छन् ।

    चिकित्सकका अनुसार डेंगु रोग डेंगु भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मात्र सर्दछ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij