वेबटिभी खबर
चितवन । भरतपुर महानगरपालिकाले दुई हजार युवालाई निःशुल्क तालिम दिने भएको छ ।
आर्थिक वर्ष २०७९/८० को सहकारी कार्यक्रम तथा प्रवर्द्धन नीति तथा कार्यक्रमबमोजिम सैलुन, प्लम्बर, इलेक्ट्रिसियन, ड्राइभिङ र मागमा आधारित ‘मेयर उद्यमशीलता’ तालिम दिन लागेकाे हो ।
तालिममा सहभागी हुनका लागि आवेदनसमेत माग गरिसकेको छ । यसका लागि भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने, कम्तीमा ८ कक्षा उत्तीर्ण र १८ वर्ष पूरा गरी ४० वर्ष नपुगेका व्यक्तिले सहकारी प्रवर्द्धन शाखामा सम्पर्क गर्नुपर्ने महानगरले जनाएको छ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले मागका आधारमा न्यूनतम छ महिनाको निःशुल्क तालिम प्रदान गर्न लागेको जानकारी दिइन् । युवाले इच्छा गरेअनुरुप महानगरपालिकाले प्राविधिक तालिम प्रदान गरिने जनाइएको छ ।
प्रमुख दाहालले रोजगारी प्रर्वद्धन गर्ने स्थानीय सरकारको दायित्व भएकाले बढीभन्दा बढी रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले तालिम दिन लागिएको बताइन् ।
महानगरपालिकाले चालु आवमा युवालाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रवर्द्धन गर्न १ करोड ५० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij