वेबटिभी खबर
काठमाडौं । संविधान दिवसको दिन नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले सहिद, बेपत्ता तथा घाइते सबैको स्मरण गरेका छन् । आज बिहान (३ असाेज) ट्वीट गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले संविधानसभाबाटै संविधान बनाउन अमूल्य जीवन बलिदान दिने सहिद, बेपत्ता तथा घाइते सबैको स्मरण गरेका हुन् । उनले संविधान बनेको दिनलाई आफ्नो पुस्ताको सबैभन्दा महत्त्वपूर्ण दिनको रूपमा उल्लेख गरेका छन् ।
‘हाम्रो पुस्ताको सबभन्दा महत्त्वपूर्ण उपलब्धि नेपाली जनताले इतिहासमा पहिलोचोटि संविधानसभाबाट संविधान बनाएर पूर्ण रूपले सार्वभौमसत्तासम्पन्न बनेको दिन संविधान दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना । यस निम्ति अमूल्य जीवन वलिदान दिने, वेपत्ता हुने, घाइते हुने सबैमा हार्दिक श्रद्धासुमन ।’
डा.भट्टराईले संविधान–२०७२ लाई आधा गिलास भरी र आधा गिलास खाली भन्दै संविधानमा शासकीय स्वरूप र निर्वाचन प्रणाली बदल्नुपर्ने आवाज उठाउँदै आएका छन् ।
देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसद्को व्यवस्था हुनुपर्ने डा.भट्टराईकाे भनाइ छ । उनले अहिलेकै शासकीय स्वरूप र निर्वाचन प्रणालीले मुलुकलाई स्थायित्व दिन नसक्ने बताएका छन् ।
शनिबार प्रतिनिधिसभाकाे अन्तिक बैठकमा डा.भट्टराईले भनेका थिए,‘संविधानसभामा ८० प्रतिशत जनताले सुझाव दिएका थिए, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणाली र पूर्ण समानुपातिक संसद् हुनुपर्छ । हामीले त्यतिबेला टेरेनौं । हो, त्यसैको दुष्परिणाम यो हो । प्रतिनिधिसभाको दुःखद् घटनाबाट पाठ सिकेर आउँदो निर्वाचनपछि मुद्दा बनाएर हामी जानुपर्छ । जनतालाई सुसूचित गराउनुपर्छ । तपाईं हामी सबैले यो शासकीय स्वरूप र निर्वाचन प्रणालीलाई बदलेर देशमा राजनीतिक स्थायित्व ल्याउने र सबैको प्रतिनिधित्व हुने त्यो प्रकारको प्रणाली हामीले अपनाउनै पर्छ । त्यसकारणले आधा गिलास भर्ने भनेको शासकीय स्वरुप र निर्वाचन प्रणाली सुधार्ने हो । दोस्रो कुरा भनेको हामी संघीयतामा गयौं । खुसीको कुरा हो । संघीयतालाई अझै ठिक ढंगले हामीले आत्मसाथ गरेका छैनौं । बहुजातिय र बहुराष्ट्रिय मुलुकमा हामीले विभिन्न जाति, भाषाहरूको पहिचान र अधिकारसहित संघीयतामा जानै पर्थ्यो । जुन खालको संघीय ढाँचा बनेको छ त्यो पूर्ण छैन । यसको पुनरावलोकन गरेर हामीले त्यसलाई पूर्णता दिनैपर्छ । सबै जाति, क्षेत्र, लिङ्गको सहभागिता हुने गरी संघीय पुर्नसंरचना गर्नैपर्छ ।’
हाम्रो पुस्ताको सबभन्दा महत्वपूर्ण उपलब्धी नेपाली जनताले इतिहासमा पहिलोचोटि संविधानसभाबाट सॅविधान बनाएर पूर्ण रूपले सार्वभौमसत्तासम्पन्न बनेको दिन संविधान दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना !यसनिम्ति अमूल्य जीवन वलिदान दिने,वेपत्ता हुने,घाइते हुने सबैमा हार्दिक श्रद्धासुमन! pic.twitter.com/tKFu7HVMOc
— Baburam Bhattarai (@brb1954) September 18, 2022
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij