वेबटिभी खबर
टीकापुर । गत शनिबार गएको बाढीले कैलालीमा ठूलो क्षति भएको छ । बाढीका कारण मानवीय क्षति, धनजनको क्षतिमात्र नभई कृषि तथा पशुपालनतर्फ समेत ठूलो क्षति पुगेको छ ।
कैलालीको भजनी नगरपालिकामा व्यावसायिकरूपमा माछापालन गरिरहेका किसानका पोखरीमा रहेका सबै माछा बगेपछि किसान मारमा परेका हुन् । भजनीमा करिब ४० किसानले व्यावसायिकरूपमा माछापालन गरेका छन् ।
सबै किसानका पोखरीमा रहेका माछा बाढीमा बगेका छन् । भजनीका दीपक चौधरीले पोखरीमा १० हजार माछा पालेका थिए । माछा हालेको छ महिना भइसकेको थियो । माछा आधा किलोदेखि एक किलोसम्मका थिए ।
‘माछा तयार भइसकेकाले दशैँमा बेच्ने तयारी थियो’, उनले भने, ‘आम्दानी लिने बेलामा बाढीले सखाप पार्यो, माछाका भुरामा लगानी, दानापानी, दैनिकको लगानी खेर गयो । यही व्यवसायले जीवन चलेको थियो, हामी त बर्बाद भयौं ।’
चौधरीका माछासँगै बंगुरसमेत बगेका छन् । उनका बंगुरका १२ बच्चा र दुई माउ बाढीमा बगेका हुन् । ‘कृषिकर्म गरेर जीवन चलाउन भने पनि बाँच्न सक्ने अवस्था रहेन’, उनले भने, ‘न धानखेती बाँकी रह्यो, पालेका माछा बगे, बंगुर पनि बगे, अब के गर्ने केही सोच्न सकिएको छैन् ।’
बाढी आएपछि भजनी-८ थापापुरका पुरनकुमार चौधरीका पनि एक हजार छ सय माछा बगेका छन् । पुरनकुमारको पोखरीमा सात महिनाका माछा थिए । उनले पनि दशैँ-तिहारमा माछा बेच्ने तयारी गरेका थिए ।
दशैँमा बेचेर आम्दानी लिने तयारी थियो, सबै बगेर गए’, उनले भने, ‘लाखौँको क्षति भयो ।’ भजनीकै सन्तोष शाहका पनि पाँच हजार माछा बगेका छन् । उनले ६० हजारका माछाका भुरामात्रै हालेका थिए ।
भजनी नगरपालिकाका पशु शाखा प्रमुख हरिलाल जैसीले माछापालनतर्फ कति क्षति भयो भन्ने पूर्ण विवरण आउन समय लाग्ने बताए । ‘अहिलेसम्म सात जना पोखरी किसानले पालिकामा निवेदन दिनुभएको छ’, उनले भने ।
‘पालिकाभरि ४० भन्दा बढी पोखरीमा व्यावसायिकरूपमा माछापालनमा लाग्नुभएका किसान हुनुहुन्छ । सबैको क्षति भएको खबर छ । एउटै किसानले चार कठ्ठादेखि दुई बिघा जमिनसम्ममा माछा पाल्नुभएको छ ।’
बाढीले कैलालीमा ठूलै धनजनको क्षति गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्यांकअनुसार जिल्लामा ११ हजार तीन सय ९४ घरधुरी प्रभावित छन् । बाढीले बढी क्षति भएको भजनीमा सात हजार ७६ घरपरिवार प्रभावित छन् ।
भजनीमा तीन हजार ३२ घरधुरी विस्थापित छन् । विस्थापित भएकाहरू हुलाकी सडकमा बसिरहेका छन् । त्यस्तै जोशीपुर गाउँपालिका बाढी तथा डुबानबाट एक हजार दुई सय ३६ परिवार विस्थापित भएका हुन् ।
टीकापुर नगरपालिकामा सात सय ५५ घरपरिवार प्रभावित भएको तथ्यांक छ । बाढीले टीकापुर नगरपालिकाका ५, ६, ७, ८, ९ नं वडा सबैभन्दा बढी प्रभावित भएका पालिकाले जनाएको छ ।
जानकी गाउँपालिकामा दुई सय परिवार, कैलारीमा एक सय ७५, लम्कीमा एक सय ४५, गोदावरीमा एक, धनगढीमा १४ घरपरिवार विस्थापित भएका छन् । बाढीबाट भएको क्षतिको सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री डा.रणबहादुर रावलले निरीक्षण गरेका छन् ।
मन्त्रीले टीकापुर, भजनी, जोशीपुरलगायतका क्षेत्रमा निरीक्षण गर्नुभएको हो । वडा नं ६ लगायतका ठाउँमा राहत वितरणसमेत गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij