वेबटिभी खबर
नुवाकोट । नुवाकोटको तादी गाँउपालिका-४ को पर्यटकीय क्षेत्र बाघमारालाई फापर र आलुको पकेट क्षेत्र बनाउन सुरु गरिएको छ ।
पकेट क्षेत्रका लागि अहिले त्यहाँ रहेको दुई हजार पाँच सय रोपनीभन्दा बढी जग्गामा फापर लगाउनका लागि तयार गरिएको गाउँपालिकाको अध्यक्ष सन्तमान तामाङले जानकारी दिए ।
अध्यक्ष तामाङका अनुसार नुवाकोटमा रहेका पर्यटकीय क्षेत्रमध्ये उच्च भूगोलबाट (समुन्द्री सतहदेखि दुई हजार मिटर) जिल्लाको धेरै स्थानको अवलोकन गर्न सकिन्छ ।
बाघमारालाई धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा संरक्षण, प्रवर्द्धन, प्रचारप्रसारसहित आर्थिक उपार्जनका लागि फापर र आलु लगाएर ‘कृषि-पर्यटन’को विकास गर्ने योजनामा लागिएको छ ।
वर्षौंदेखि बाँझो रहेका किसानका जग्गामा अहिले हेभी इक्युमेन्ट (स्काभेटर र डोजर) लगाएर खन्ने र गरा सम्याउने काम भइरहेको छ ।
‘सूर्योदय, सूर्यास्त, गर्मीमा शीतलता र जाडोमा घाम ताप्न बाघमारा पुग्ने पर्यटकलाई अवलोकन गराउने र उनीहरूलाई फापरको डिढो र आलुको तरकारी परिकार पस्कन पकेट क्षेत्र बनाउन सुरु गरिएको हो’, अध्यक्ष तामाङले भने ।
‘अहिले स्थानीय तीन सय घरधुरी किसानको दुई हजार पाँच सय रोपनी जग्गामा फापर छर्न बाँझो जग्गा खनजोत गरेर तयारीका क्रममा छ ।’ वर्षौंदेखि बाँझो रहेको जग्गामा गाउँपालिकाको सहयोगमा सुरु भएको पकेट क्षेत्रको निर्माणले कृषि उत्पादन र पर्यटन वृद्धि हुने आशामा स्थानीय किसान उत्साहित छन् ।
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले किसानको जग्गा सम्याउने, मनाङ र मुस्ताङमा फलेको फापरको बीउ ल्याउने, सिँचाइ सुविधा उपलब्ध गराउनेलगायतमा गाउँपालिकाको अनुदानका रहेको जानकारी दिए ।
‘अहिले काम सुरु गरिहालौं भनेर अघि बढेका हौं’, प्रशासकीय अधिकृत भट्टराईले भने, ‘यस सम्बन्धी कार्यविधि निर्माण, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने लगायतका काम क्रमशः अघि बढाउँदै लगिनेछ ।’
दसैँअघि नै किसान फापर रोप्ने र आलु लगाउने योजनामा किसानको योजना छ । पर्याप्त सिँचाइ अभावले बाँझो रहेको भञ्ज्याङमा कृषिमार्फत आर्थिक लाभ र पर्यटकीय आकर्षण बढाउने योजना रहेको स्थानीय किसान सञ्जय तामाङले बताए ।
फापर र आलुको साथमा गराका डिलमा हावा पानी सुहाउँदो तरकारी र फलफूल लगाउनेसमेत योजना किसानको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij