Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

विदेशबाट फर्किएर भेडापालन, वार्षिक ३ लाख आम्दानी

विदेशबाट फर्किएर भेडापालन, वार्षिक ३ लाख आम्दानी

  • 420
    SHARES
  • विदेशबाट फर्किएर भेडापालन, वार्षिक ३ लाख आम्दानी

    काठमाडौं । तेह्रथुमको आठराई गाउँपालिका-३ ह्वाकुका सुमन गुरूरुङले विदेशमा भन्दा पनि आफ्नै घरगाउँमा आजकल राम्रो कमाइ गर्न थालेका छन् ।

    चार वर्ष विदेश बसेर दुईवर्ष अघि घर फर्किएका २७ वर्षीय गुरूङले आफै गाउँघरमा नै भेडापालन गरेर विदेशमा भन्दा राम्रो कमाइ गर्न थालेको बताउँछन् ।

    कोरोनाका कारण नेपाल फर्किएका गुरूङ सुरुमा अब के गरेर जीवन चलाउने भन्ने सोचमा थिए । घरमै यत्तिकै बसरिहेको बेला उनलाई भेडा पालन गर्ने सचो आयो ।

    त्यसपछि आफ्नै गाउँ-ठाउँमा केही गर्ने मनसाय लिएका गुरुङलाई स्थानीय संस्था देउराली सोसाइटीले जागरूक बनाउन मद्दत गर्यो ।

    अहिले भेडापालनबाट गुरूङले मासु र राडीपाखी बेचेर राम्रो आम्दानी गरिरहेको बताउँछन् । एउटै थुमालाई २० देखि ३० हजार रूपैयाँसम्ममा बेच्ने गरेको गुरूङले बताए ।

    खसी, बोका, बङ्गुरभन्दा भेडा बढीमा बिक्री हुने उनको भनाइ छ । अहिले उनीसँग ५० भन्दाबढी भेडा छन् ।

    गुरुङले घर नजिकै गोठ बनाएर अहिले भेडा पालेका छन् । परिवारका ८ सदस्यको घर खर्च पनि भेडापालनबाट हुने आम्दानीले  चलाउने गरेको उनको भनाइ छ ।

    उनले भने, ‘घरखर्च कटाएर केही रकम बचत हुन्छ । अन्य व्यवसायभन्दा बढी आम्दानी हुने गरेको छ ।’ भेडापालनबाट घर खर्च कटाएर वार्षिक तीन लाख रूपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए ।

    देवी-देवतालाई बलि दिन र विभिन्न चाडपर्वमा खानका लागि भेडा किन्न ग्राहक गुरूङको घरमै आउने गरेका छन् । जंगल पनि धेरै टाडा नभएकाले भेडापालन सहज भएको उनको भनाइ छ ।

    उनले भने, ‘बिक्रीका लागि कसैलाई गुहार्नु पर्दैन, ग्राहक घरमै आएर लैजान्छन् । आफ्नै गाउँठाउँमा मेहेनत गरियो भने विदेशमा भन्दा राम्रो कमाइ हुने भएकाले विदेश गइरहनु परेन ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij