Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कञ्चनपुरका बाढीपीडितको जंगलमा बास

कञ्चनपुरका बाढीपीडितको जंगलमा बास

  • 391
    SHARES
  • कञ्चनपुरका बाढीपीडितको जंगलमा बास

    काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । अहिले यहाँका १५ परिवारको बासस्थान जनजागरण सामुदायिक वन बनेको छ ।

    बाढीले प्रभावित भएपछि जंगलमा त्रिपाल टाँगेर ओत बसेको एकान्त टोलका मेघु बोहराले बताए । उनले भने, ‘घरभित्रको सामान पूरै बाढीले लग्यो, घरका खम्बा मात्रै बाँकी छन् । घरभरी माटो नै माटो भएको छ । लत्ताकपडा सबै बाढीले लग्यो ।’

    शुक्रबार राति वनहरा नदीमा आएको बाढीले आफूहरुको बिचल्ली भएको उनको गुनासो छ ।

    उनले भने, ‘यतिका दिन भयो आजसम्म जंगलमै त्रिपाल टाँगेर बसेका छौँ । घर कसरी फर्किने त्यहाँ बाढीले केही राखेको छैन । ओढ्न, बिछ्यान केही छैन । खानका लागि एक कट्ठा चामल पाएका थियौँ । त्यो सकिएपछि के खाने भन्ने चिन्ता छ ।’

    जंगलमा त्रिपालमुनि बिछ्याउने कपडा नहुँदा समस्या भएको हरिकृष्ण भट्टको गुनासो छ ।

    उनले भने, ‘घर बस्न लायक नै छैन, फेरि के पो हुन्छ भन्ने डरले त्यहाँ गएका छैनौँ । वर्षभरी खाने खेतको अन्नसमेत माटोमा मिसिएको छ । अब कसरी परिवार पाल्ने, अनिकाल लाग्ने भयो ।’

    एकान्त टोलमा १५ कट्ठा जग्गामा लगाएको उनको धान खेतीमा वनहरा नदीको बाढीले क्षति पुर्याएको छ । उनका अनुसार धानसँगै बदाम, मास र तिल पनि बाढीले ल्याएको बालुवाले पुरियो । २०६४ सालयता यस्तो बाढी कहिल्यै देखिएको थिएन ।

    बाढी प्रभावित शुक्लाफाँटा नगरपालिका-११ वनहरा शिविरका सुकुम्बासी पनि बिचल्लीमा परेका छन् । त्यहाँका ३० परिवार पनि नजिकैको जंगलमा त्रिपालमुनि रात काटिरहेका छन् । बर्सेनि बाढीको पीडा झेल्दै आए पनि अहिलेसम्म सरकारले आफूहरूलाई नहेरेको वनहराका सुकुम्बासीको गुनासो छ ।

    स्थानीय बहादुर कामीले भने, ‘नदीले उताबाट धकेल्छ, यताबाट वनले धपाउँछ, प्रशासनले बाँच्नुहोस् भन्छ, कहाँ जाने ?’ बाढीले घरभित्र माटो भरिएकाले बस्तीमा बस्नै नसकिने अवस्था रहेको मानध्वज लुहार बताए ।

    उनले भने, ‘चामल पाएका छौँ, पकाउनलाई भाँडा छैनन्, कहाँ पकाउने ? कसरी पकाउने  ? बस्तीमा पानी पनि छैन ।’ बर्सेनि बाढीले दुःख दिँदै आए पनि अहिलेसम्म यसको दिगो व्यवस्थापन हुन नसक्दा पीडा खेप्नुपरेको देवकी विष्ट बताइन् ।

    उनले भनिन्, ‘राति एक्कासी बाढी आयो, बालबच्चा काखमा च्यापेर भागे, सरसमान जोगाउन सकिएन । बाख्रा, लत्ताकपडा कहाँ पुगे, अहिले जंगलमा बस्नुपरेको छ, खानलाई अन्न छैन ।’

    बाढी प्रभावितलाई सुरक्षित स्थानमा सारिएको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले जानकारी दिए । उनले भने, ‘बाढीपछिको अवस्थालाई सामान्य बनाउने प्रयास गरिरहेका छौँ, प्रभावितलाई सुरक्षित स्थानमा राखेका छौँ । उनीहरूको खाने, बस्ने व्यवस्था पनि मिलाएका छौँ ।’

    बाढी प्रभावितलाई राहत तथा क्षतिपूर्तिका लागि प्रदेश तथा संघ सरकारलेसमेत सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij