वेबटिभी खबर
सांकेतिक तस्बिर
काठमाडौं । तनहुँको ऋषिङ्ग गाउँपलिका-८ पल्ट्याङका गञ्जसिं गुरूङलाई बर्खायाममा फेदीखोला तर्न निकै सकस थियो । हिउँदमा सामान्य भए पनि बर्खाका बेला फेदीखोला उर्लेर तर्न समस्या हुन्थ्यो ।
खोला बढेको बेला वारपार गर्न सास्ती हुने गरेकाे छ । खोला बढेर मान्छे नै बगाउने स्थिति आउने गर्दथ्यो । विसं २०७५ मा कक्षा सातमा अध्ययनरत एक बालक मृत्युसमेत भएकाे थियाे । तर अब यस भेगका बासिन्दालाई खाेला तर्ने समस्याबाट मुक्ति पाएका छन् ।
गण्डकी प्रदेश सरकारको सहयोगमा उक्त गाउँपालिका-८ र भिमाद नगरपालिका-५ जोड्ने फेदीखोलामा पुल निर्माण भएपछि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हटेको हो ।
खोला तर्नुपर्दाको विगत सम्झिँदै गुरूङले भने, ‘खोलामा पुल नहुँदा यस भेगका जनताले निकै दुःख पाए तर अब त पक्की पुल बनेकाले सहज भयो ।’ उक्त गाउँपालिकाका विभिन्न वडावासीको प्रमुख व्यापारिक केन्द्र भिमाद बजार हो ।
त्यस भेगका सर्वसाधारण यही बाटो हुँदै भीमाद बजार आउँछन् तर पुल बनेपछि दैनिक जीवन यापनमा सहज भएको उनले बताए । गुरूङका अनुसार फेदीखोलामा पुल निर्माण भएपछि भिमाद नगरपालिका र यस गाउँपालिकाका हजारौँ सर्वसाधारण लाभान्वित भएका छन् ।
पक्की पुल बनेपछि ग्रामीण भेगमा उत्पादित तरकारी पनि सहजरूपमा बजारसम्म लगेर बिक्री गर्न सहज भएको छ । भिमाद नगरपालिका-५ का तिलबहादुर थापाले पक्की पुल निर्माण भएसँगै भिमादका अतिरिक्त ऋषिङ्गको राम्जाकोट, कोटदरवारलगायत ठाउँका बासिन्दा प्रत्यक्ष लाभान्वित भएको जानकारी दिए ।
उनले भने, ‘हेर्दा सामान्य देखिए पनि बर्खामा खोलाको वास्तविक रूप देखिन्छ तर अब पुल बनेपछि राहत भयो ।’ सोही नगरपालिका-३ स्थित बुडुवा खोलामा पनि पक्की पुल नहुँदा स्थानीयवासीलाई खोला पारपार गर्न कठिन थियो ।
बर्खाका बेला यो खोला निकै ठूलो हुन्थ्यो । खोला तर्न हालिएका फड्के पनि बगाउँदा स्थानीयवासी मर्कामा पर्दै आएका थिए । विद्यालय जाने विद्यार्थी, घाँसदाउरा र मेलापात गर्ने स्थानीयवासीलाई पनि खोला तर्न समस्या थियो ।
यहाँ पनि प्रदेश सरकारको सहयोगमा पक्की पुल निर्माण सम्पन्न भएको छ । वर्षौंदेखि पक्की पुल बनाउन आवाज उठाउँदै आएका स्थानीयवासीको माग प्रदेश सरकारले सम्बोधन गरेको वडाअध्यक्ष पदमराज ठकुरीले बताए ।
उनले भने, ‘पुल नहुँदा यहाँका बासिन्दाले दुःख झेल्नुपर्यो तर संघीयतासँगै बनेको प्रदेश सरकारले यहाँ पुलको आवश्यकता महसुश गर्यो, किरण गुरूङ अर्थमन्त्री हुँदा बजेट विनियोजन भएर पुल निर्माण भएको छ ।’
तनहुँमा गण्डकी प्रदेश सरकार मातहत पूर्वाधार विकास कार्यालयमार्फत चारवटा पक्की पुल निर्माण भएको छ । आर्थिक वर्ष ०७८/७९ मा १६ करोडको लागतमा ती पक्की पुल निर्माण भएका हुन् ।
विभिन्न मितिमा निर्माण सुरु गरिएका उक्त पुल आर्थिक वर्ष ०७८/७९ मा निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।
कार्यालयले रिस्तीखोला मोटरेवल पुल सोतीवेशी, बुडुवाखोला मोटरेवल पुल, फेदीखोला मोटरेवल पुल र रिस्तीखोला मोटरेवल पुल बगुवा निर्माण गरेको कार्यालयका सूचना अधिकारी धनमाया मिश्रले जानकारी दिए ।
फेदीखोलाको पुल ४ करोड २८ लाख ३२ हजार, बुडुवा खोलाको पुल २ करोड ९ लाख, रिस्ती बगुवाखोलाको पुल ४ करोड २५ लाख र रिस्ती सोतीवेशीको पुल ४ करोड ७१ लाख ३६ हजारको लागतमा सम्पन्न भएको हो ।
फेदी खोलामा २५ मिटर, बुडुवा खोलामा १९ दशमलव ८ मिटर, रिस्ती बगुवा ५२ मिटर र सोतीवेशीमा ४१ मिटर लामो स्पान टाइपको मोटरेवल पुल निर्माण भएको उनको भनाइ छ ।
उक्त आर्थिक वर्षमा ७ वटा पुल सम्पन्न गर्ने लक्ष्य रहेपनि जेठ र असारमा वर्षाका कारण काम गर्न कठिनाइ भएपछि तीन वटा पुल निर्माण हुन नसकेको सूचना अधिकारी मिश्रले बताए ।
उनले भने, ‘सात वटा पुल सम्पन्न हुन्छ भन्ने लक्ष्य थियो तर तीन वटा पुलको काममा ढिलाइ भयो, चार वटा मात्रै सम्पन्न भएको छ ।’ करिब ११ करोडको लागतमा निर्माण गरिने तीन पुल अन्तिम चरणमा पुगेको छ ।
ज्वालाखोला मोटरेवल पुल ३ करोड २१ लाख, द्रोपद खोला मोटरेवल पुल ३ करोड ८३ लाख र बरखोला पुल ३ करोड ३६ लाखको लागतमा निर्माण भइरहेको कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij