Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सार्वजनिक शौचालय प्रयोगविहीन हुँदा बजार दुर्गन्धित

सार्वजनिक शौचालय प्रयोगविहीन हुँदा बजार दुर्गन्धित

  • 339
    SHARES
  • सार्वजनिक शौचालय प्रयोगविहीन हुँदा बजार दुर्गन्धित

    कैलाली । कैलालीको अत्तरियास्थित सार्वजनिक शौचालय प्रयोगविहीन हुँदा यहाँको बजार नै दुर्गन्धित बनेको छ ।

    दुई वर्षअघिदेखि बन्द अवस्थामा रहेको शौचालय प्रयोगमा नआउँदा उक्त स्थानबाट बजारमा आवतजावत गर्नै मुस्किल हुने गरेको स्थानीयले बताएका छन् ।

    २०६२ मा तत्कालीन अत्तरिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वारा निर्माण गरिएको उक्त शौचालय कोरोना महामारीपछि प्रयोगविहीन छ । शौचालय बन्द हुँदा मादक पदार्थ सेवनकर्ता र मानसिक अवस्था ठिक नभएका व्यक्तिले शौचालय वरपर जथाभावी शौच गर्ने गरेका कारण दुर्गन्ध बढेको बताइएको हो ।

    उक्त क्षेत्रबाट शौचालय व्यवस्थापन नभए हटाइनुपर्ने स्थानीयको माग छ । शौचालय वरपर रहेको डिके तरकारी पसल सञ्चालन गर्दै आएका दिलाराम विकले शौचालय बन्द भए पनि यात्रुले चारैतिर अझै पनि दिसापिसाब गर्ने गरेकाले दुर्गन्ध बढेको गुनासो गरे ।

    उनले शौचालय सञ्चालन हुँदा पनि सरसफाईमा ध्यान नदिँदा निकै दुगन्धित बनेका कारण आफूहरूले पसल नै बन्द गर्नुपर्ने अवस्था आएपछि शौचालय बन्द गर्न लगाएको बताए ।

    ‘यो शौचालयको सेफ्टिट्यांकी भरिएको छ, त्यसपछि शौचालयको जिम्मा लिएका मानिसले शौचालयकै पछाडि रहेको खल्लामा ट्यांकीको फोहर फाल्न थाले’, उनले भने, ‘त्यस्तो समयमा पसलमा बस्नै नसकिने अवस्था हुन्थ्यो, त्यसैले हामी नजिकका व्यवसायीहरूले यसलाई बन्द गर्ने माग गरेका थियौं ।’

    उनले शौचालय बन्द भए पनि शौच गर्ने मानिसले बाहिरै शौच गर्न थाल्दा झन् बढी दुर्गन्ध फैलन थालेकाले शौचालयलाई उक्त स्थानबाट हटाइनुपर्ने जानकारी दिए ।

    ‘सुरुआतमा यात्रुवाहक बस रोकिन्थे, बसपार्क यतै थियो, त्यसैले शौचालयको आवश्यकता थियो’, उनले भने, ‘तर अहिले बसपार्क माथि छ, बसपार्कमा शौचालय छँदैछ, यो शौचालयको काम नै छैन ।’

    शौचालयको दुर्गन्धका कारण आएका ग्राहकहरू पनि नाक थुनेर भाग्ने गरेको उनले बताए । शौचालयलाई हटाउन पटक-पटक नगरपालिका धाए पनि आफूहरूको गुनासो सम्बोधन नभएको उनको भनाइ छ ।

    सोही क्षेत्रमा होटल सञ्चालन गरिरहेका किरण बोहराले शौचालयका कारण व्यापारमा ठूलो समस्या भइरहेको बताए । ‘आउने बाटो त्यतै छ, शौचालयको दुर्गन्धका कारण ग्राहक परैबाट भाग्छन् समस्या छ’, उनले भने, ‘त्यो शौचालयका कारण यो समाज नै फोहर भइसकेको छ ।’

    उनले चालु अवस्थाको भन्दा बन्द अवस्थामा रहेको शौचालयले बढी दुर्गन्ध फैलाइरहेको जानकारी दिए । यस्तै गोदावरी होटल व्यवसायी संघ अत्तरियाका सचिव रवीन्द्र खड्काले शौचालयका कारण बजारमा दुर्गन्ध बढेकाले चोकमा रहेको शौचालय हटाइनुपर्ने बताए ।

    उनले बजारको मुख्य क्षेत्रमा नै दुर्गन्धित शौचालय हुँदा आएका पर्यटकमाझ पनि नराम्रो प्रभाव परिरहेको जानकारी दिए । शौचालयको दुर्गन्धका कारण होटल व्यवसाय सञ्चालन गर्नमा सबैभन्दा ठूलो समस्या भइरहेको उनको भनाइ छ ।

    करिब १७ वर्ष अगाडि बनेको उक्त शौचालय राजमार्गको क्षेत्राधिकारभित्र रहेको जमिनमा बनेको छ । केही वर्ष पहिले सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग क्षेत्रमा रहेको अत्तरियाका केही स्थान खाली गरे पनि शौचालय भने भत्काएको थिएन ।

    उक्त समितिको सुरुआती बोलपत्रमा सटही ढल र शौचालय बनाउने योजना आएपछि उक्त शौचालय बनेको थियो । स्थापना कालमा अत्तरियाचोकमा बसपार्क भएकाले मानिसको आवतजावत बढी हुने र शौचालयको अभाव भएकाले सो ठाउँमा शौचालय निर्माण गरिएको समितिका कार्यालय प्रमुख कुलान्द पनेरुले बताए ।

    उनले निर्माणपश्चात त्यसको सञ्चालन र व्यवस्थापनका लागि ठेक्कामा दिइएको मानिसले राम्ररी काम नगर्दा दुर्गन्ध बढेको र शौचालय पनि जीर्ण अवस्थामा पुगिसकेको जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij