Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

पहिरोका कारण तरकारी बजार पुर्‍याउन समस्या

पहिरोका कारण तरकारी बजार पुर्‍याउन समस्या

  • 313
    SHARES
  • पहिरोका कारण तरकारी बजार पुर्‍याउन समस्या

    म्याग्दी । बेनी नगरपालिका-५ डडुवामा उत्पादन भएको कृषि उपज बजारसम्म पुर्‍याउन समस्या भएको छ ।

    बेनीदेखि पुलाचौर-चिप्लेटी-डडुवा जोड्ने सडकमा खसेको पहिरोका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा तरकारी बजारसम्म पुर्‍याउन समस्या भएको हो ।

    डडुवाका अगुवा कृषक मोहन भण्डारीले प्रशस्त मात्रामा तरकारी र फलफूल पनि बजार पठाउन नसक्दा अपेक्षाकृत लाभ लिन नसकेको गुनासो गरे । ‘सडक बनेपछि सजिलो होला भनेर व्यवसायिकरूपले तरकारी खेती थालेका थियौ,’ उनले भने ।

    ‘चिप्लेटी र डडुवाको बीचमा पर्ने हेकुले भन्ने ठाउँमा सडक भासिँदा यातायातको समस्या भयो ।’ बर्खायाममा लामो समय यातायात बन्द हुँदा गोलभेडा, साग, सिमी, खुर्सानीलगायत तरकारी बेनीको बजारमा पठाउन समस्या परेको हो ।

    डडुवादेखी चिप्लेटीसम्म डोकोमा बोकेर लैजाने र मंगला गाउँपालिकाको तल्लो डडुवा हुदै बेनी पठाउँदा ढुवानी खर्च महँगो पर्ने र बजारमा प्रतिस्पर्धा गर्न नसकिने अवस्था छ ।

    करिब १०० घरपरिवारको बसोबास रहेको डडुवाका २० कृषकले व्यावसायिक तरकारीरुपले खेती गरेका छन् । टमाटर खुल्ला जमिनमा पनि बन्दा, काउली, साग, गोलभेडा, सिमी, भन्टा, काँक्रो, क्याप्सीकम, खुर्सानी, ब्रोकाउली र अदुवा लगाइएका छन् ।

    भरत भण्डारी, अर्जुन भण्डारी, डेकबहादुर पाइजा, भीमबहादुर पाइजा, वीरबहादुर भण्डारीलगायत व्यक्तिले गाउँमै व्यावसायिक तरकारी खेती र पशुपालन गरेका हुन् । उजाड र उराठलाग्दो डडुवा अहिले हराभरा भएको छ ।

    हाइटेक प्रविधिको टनेलका साथै खुल्ला जमिनभित्र तरकारी खेती गरिएका छन् । बिरुवाको जरा जरामा पानी र प्रोट्रिन आपूर्ति हुने गरी थोपा सिचाई प्रविधि जडान गरिएका छन् । झार र रोगकिराको समस्या न्यूनीकरण गर्न मल्चिङ प्रविधि अपनाइएका छन् ।

    डडुवाको तरकारी बिक्रीका लागि मुख्य बजार बेनी हो । निरन्तर पहिरो जाने गरेकाले हेकुलेमा यातायातका साधन सञ्चालन गर्न समस्या भएको बेनपा–५ का वडाध्यक्ष गोविन्द बानियाले बताए ।

    यसपाली पनि बर्षा शुरु भएपछि सो ठाउँमा दुई पटक सडक मर्मत गरिएको र पुनः मर्मतका लागि डोजर पठाउने उनले जानकारी दिए । कृषकहरूको जागरुकताका कारण डडुवा गाउँ व्यवसायिक कृषिमा अग्रसर भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए ।

    डडुवाका कृषकहरूलाई प्लास्टिकको टनेल, अदुवा, साना सिचाई, प्राङग्रारिक खेती, रैथाने बालीका कार्यक्रममार्फत सहयोग गरिएको छ । गत वर्षमात्र डडुवाका १० भन्दा बढी कृषकले उक्त केन्द्रको विभिन्न कार्यक्रमबाट अनुदान सुबिधा लिएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij