वेबटिभी खबर
काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा सोमबार शुभ साइतमा जमरा राखिएको छ ।
नेपाल पञ्चांग निर्णायक समितिले तोकेको सोमबार बिहान १०ः२३ बजेको शुभ साइतमा हनुमानढोकास्थित दसैंघरमा जमरा राखिएको हो ।
सोमबारबाट नवरात्र सुरु भएको छ । जसअनुुसार पहिलो दिन घरघरमा घटस्थापना गरिएको छ ।
हनुमानढोकाको दसैंघरमा जमरा राख्दा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाएका थिए । हनुमानढोकामा हर्ष बढाईंसाथ जमरा राख्ने चलन छ ।
गाईको गोबरले लिपेर तयार गरिएको पूजाकोठामा नदी तथा चोखो स्थानबाट ल्याएको बालुवामा विधिपूर्वक जौसहितका अन्न छरेर जमरा राख्न चलन छ ।
घटस्थापनाका दिन छरिएको जौको अंकुरणलाई दशैंको टीकाको दिन देवीको प्रसादको रुपमा जमरा ग्रहण गर्ने धार्मिक चलन रहिआएको छ ।
साथै जमराघरमा दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरि पूजा गरिन्छ ।
यस वर्षको दसैँको टीकाको उत्तम साइत १९ कात्तिक बुधबार बिहान ११ः५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।











Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij