वेबटिभी खबर
जेरुसेलम । यतिवेला विश्वभरका देशहरुले इजरायल र प्यालेस्टाइनलाई शान्ति स्थापना गर्न अपिल गरिरहेका छन् । अमेरिका, बेलायत र युरोपेली संघले इजरायल र प्यालेस्टाइनलाई छिटोभन्दा छिटो तनाव अन्त्य गर्न आग्रह गरेका हुन् । इजरायल र प्यालेस्टाइनबीच पछिल्ला दिनमा द्वन्द्व चर्किएकाे छ ।
सोमबार जेरूसेलम दिवसका राति प्यालेस्टाइनका चरमपन्थी समूह हमासले जेरुसेलममा सात वटा रकेट प्रहार गरेपछि त्यहाँ हिंसा थप बढेको थियो ।
यसपछि प्यालेस्टाइनविरुद्ध इजरायली सेनाले गाजा क्षेत्रमा हवाई आक्रमण गर्यो । प्यालेस्टाइनले प्रहार गरेको रकेट त्यहाँको डिफेन्स सिस्टमले बीचमै नष्ट गरिदिएको थियो । आक्रमणमा इजरायलका एक सैनिक सामान्य घाइते भए भने अन्य क्षति हुन पाएन ।
गाजाका प्यालेस्टिनी स्वास्थ्य अधिकारीका अनुसार इजरायलको एयरस्ट्राइकमा बालबालिकासहित २० जनाको मृत्यु भएको छ भने एक सय ७० जना घाइते भएका छन् ।
इजरायलले हवाई आक्रमणमा चरमपन्थी समूह हमासका तीन सदस्यको मृत्यु भएको बताएको छ । जेरुसेलमको अल अक्सा मस्जिदनजिकै इजरायली सुरक्षा फौजसँग भएको भीडन्तमा सयौं प्यालेस्टिनी घाइते भएपछि चरमपन्थी संगठन हमासले सोमबार इजरायलमाथि आक्रमण गर्ने धम्की दिएको थियो ।
सोमबार जेरुसेलम दिवसका अवसरमा फ्ल्याग मार्च गर्दा सहरमा अझ बढी हिंसा हुन सक्ने अनुमान पहिले नै गरिएको थियो । सन् १९६७ मा इजरायलले पूर्वी जेरुसेलम कब्जा गरेको दिनलाई जेरुसेलम दिवस मनाइन्छ । सोमबार यहुदीहरुले मुस्लिम क्षेत्रबाट र्याली निकाल्छन् । प्यालेस्टिनीहरु यसलाई जानीजानी इजरायलले उत्तेजित पार्न गरेको सम्झिन्छन् ।
कट्टरपन्थी संगठनले गरेको हमला बारेमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले आफ्नो सीमा नाघेको र इजरायलले पूर्ण शक्तिले प्रतिक्रिया दिने बताएका छन् । पछिल्ला केही दिनमा, जेरुसेलमले ठूलो हिंसाको सामना गरेको छ । जेरुसेलममा पहिलेदेखि नै हिंसा हुँदै आएको भए पनि पछिल्ला केही दिनहरू हिंसाको स्थिति विगत धेरै वर्षमा सबैभन्दा खराब भएको छ ।
प्यालेस्टाइनहरू जेरुसेलमको अल अक्सा मस्जिद जान प्रतिबन्ध लगाएपछि अघिल्लो सातादेखि नै हिंसा सुरु भएको थियो । यो मस्जिदलाई इस्लाम समुदायको विश्वमै महत्वपूर्ण र पवित्रमध्यको एक तीर्थस्थल मानिन्छ । त्यही स्थानमा रहेको माउन्ट टेम्पललाई पनि यहुदीहरुको धार्मिक स्थल मानिन्छ । जसका कारण लामो समयदेखि त्यहाँँ विवाद हुँदै आएको छ र इजरायलले प्यालेस्टिनीहरुलाई त्यहाँ जान रोक लगाउने प्रयास गर्दैछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij