Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

आजदेखि पूर्वीनाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

आजदेखि पूर्वीनाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

  • 402
    SHARES
  • आजदेखि पूर्वीनाकाबाट भारतीय गाडीलाई ‘सुविधा पास’

    झापा । मेची भन्सार कार्यालयले आजदेखि पूर्वीनाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ ।

    तीन वर्षदेखि भारतीय सवारी साधनलाई यो सुविधा दिइएको थिएन । भन्सार कार्यालयले आइतबार सूचना जारी गरेरै असोज १० गतेदेखि नाकाबाट प्रवेश गर्ने भारतीय जीप, कार र मोटरसाइकल आदिलाई ‘सुविधा पास’ दिइने जानकारी गराएको हो ।

    मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवप्रसाद ओलीले मेची उद्योग वाणिज्य संघ र पर्यटन व्यवसायसँग आबद्व संघ संस्थाले सीमा नजिकको बजारसम्म भारतीय सवारी साधनलाई सुविधा पासमा प्रवेश दिन माग गर्दै आएको बताए ।

    मेची उद्योग वाणिज्य संघले मेची भन्सार कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग दोहोर्‍याएको थियो । भन्सार कार्यालयले व्यवसायीसँग यस विषयमा छलफलसमेत गरेको थियो ।

    मेची भन्सार कार्यालयको सूचनामा त्यस्तो सुविधा बिहान ८ देखि बेलुका ५ बजेसम्म चल्नेगरी भारतीय गाडीले पाउने उल्लेख छ । यो सुविधा पास पाउन भारतीय सवारीसाधनले कुनै शुल्क बुझाउनु पर्दैन ।

    यसअघि भारतीय गाडीले २४ घण्टासम्म नेपालको सीमाभित्र सवारी सञ्चालन गर्न दैनिक ५ सय तिरेर अस्थायी अनुमतिपत्र लिनुपर्थ्यो ।

    मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले भारतीय नम्बर प्लेटका निजी प्रयोजनका सवारीसाधनले नेपालसँगको सीमा नाँघेर धुलाबारी बजारसम्म आउन ‘सुविधा पास’पाउँदा नेपाली बजारमा चहलपहल बढ्ने बताए ।

    ‘पहिले यस्तो सुविधा पास दिने व्यवस्था हुँदा हाम्रो व्यापार व्यवसाय र पर्यटन फस्टाएको थियो’, मेची भन्सार एजेन्ट संघका अध्यक्ष रहेका निरौलाले भने, ‘सुस्ताउँदै गएको हाम्रो सीमावर्ती काँकरभिट्टा, इँटाभट्टा र धुलाबारीमा भारतीय पर्यटक र व्यवसायीको सहज आवागमनले बजार चलायमान हुने अपेक्षा गरेका छौं ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij