वेबटिभी खबर
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराई गृहजिल्ला गोरखा पुगेका छन् । पार्टीलगायतको कामले अध्यक्ष डा.भट्टराई गोरखा पुगेका हुन् ।
प्रत्येक महिना गृहजिल्ला गोरखा पुग्ने गरेका डा.भट्टराईले विकास निर्माण, नयाँ योजना, राजनीति विषयमा अन्तर्क्रिया गर्नुका साथै आफूले सुरु गरेका विकास योजनाको अनुगम पनि गर्ने गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले गोरखामा प्रदेशस्तरीय जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न जडीबुटी कम्पनीका प्रबन्ध निर्देशक संगीता यादवको टोलीसँग पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाका विभिन्न सम्भावित क्षेत्रहरूको स्थलगत अवलोकन पनि गरेका छन् ।
औपचारिक प्रक्रिया पूरा गरेर छिट्टै डिपीआर बनाउने र जडीबुटी प्रशोधन केन्द्र निर्माण थाल्ने समझदारी भएको डा.भट्टराईको भनाइ छ ।
नेसपा गोरखा क्षेत्र नं २ को भेला र पुनर्गठन
नेसपा गोरखा क्षेत्र नं २ को भेला र पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमबाट ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एकजुट भएर होमिने संकल्प लिइएको छ । उक्त कार्यक्रमबाट संघीय तथा प्रादेशिक क्षेत्रस्तरीय चुनाव परिचालन समिति पनि बनाइएको छ ।
क्षेत्र २ बाटै चुनाव लड्न बाबुरामलाई सुझाव
नेसपा गोरखाका नेता तथा कार्यकर्ताले अध्यक्ष डा.बाबुराम भट्टराईलाई गोरखा क्षेत्र नम्बर २ बाटै प्रतिनिधिसभा सदस्य चुनाव लड्न सुझाव दिएका छन् । गोरखाको मात्रै नभइ समग्र देशको विकास तथा समृद्धि र अहिलेसम्मका उपलब्धिलाई बलियो गरी संस्थागत गर्न संसद्मा अध्यक्ष डा.भट्टराईको उपस्थिति अनिवार्य भएको उनीहरूको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij