Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

वर्षाका कारण सडक अवरूद्ध, यात्रुलाई सास्ती

वर्षाका कारण सडक अवरूद्ध, यात्रुलाई सास्ती

  • 336
    SHARES
  • वर्षाका कारण सडक अवरूद्ध, यात्रुलाई सास्ती

    बाजुरा । लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरूद्ध बनेको साँफे-मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन । राजमार्गमा पर्ने बूढीगंगा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो ।

    अम्कोटमा दसैं अघि सडक सञ्चालन नहुने निश्चित जस्तै भएको छ । चार महिनासम्म पनि सडक सञ्चालन हुन नसक्दा समस्या भएको छ । सडक डिभिजन कार्यालय साँफेबगर, अछामले गत साउन २३ गते वैकल्पिक सडक खोल्नका लागि काम सुरु गरे पनि त्यो बीचमै रोकिएको छ ।

    सडक भत्किएकै ठाउँबाट सडक खोल्न खोज्दा स्थानीयले काम गर्न रोकेका छन् । अम्कोटमा अवरूद्ध सडक पहिरो हटाउन खोज्दा स्थानीयले अवरोध गरेका हुन् ।

    सडक सञ्चालनमा नआउँदा सदरमुकाम मार्तडीलगायत पूर्वी उत्तरी क्षेत्र, हुम्ला र मुगुका बासिन्दा यातायात सेवाबाट वञ्चित छन् । दसैं तिहारका लागि घर आवत जावत गर्नेलाई सकस भएको छ ।

    चाडपर्वमा स्थानीय महँगीको मारमा परेका छन् । स्थानीय अर्जुनप्रसाद जैशीका अनुसार वैकल्पिक सडक खुलाउनका लागि जग्गा उपलब्ध गराए पनि उक्त कार्य बीचमै रोकिएपछि सडक खुलाउन नसकिएको हो ।

    उनले सडकमा आएको पहिरो हटाउन झनै जोखिम भएको बताए । ‘वैकल्पिक सडक बनाउन जग्गा दियौं, काम नगरेपछि हाम्रो के लाग्यो’, जैशीले भने । सडक डिभिजन कार्यालय साँफेबगरका प्रमुख विवश बस्नेतले वैकल्पिक मार्ग खोल्न आठ सय मिटर मात्र बाँकी रहेको बताए ।

    वैकल्पिक सडक खुलाउने क्रममा डोजर बिग्रेका कारण काम नभएको उनको भनाइ छ । सडकमा गएको पहिरो हटाएर यातायात पुनःसञ्चालन गर्न खोज्दा स्थानीयले अवरोध गरेको बस्नेतको आरोप छ ।

    प्रमुख जिल्ला अधिकारी प्रकाशराज अधिकारीले तत्काल पहिरो गएको ठाउँमा सडक सञ्चालन गर्न पहल भइरहेको बताए । २०७६ यता बर्षातको चार महिना सडक अवरूद्ध हुँदै आएको छ । २०७७/२०७८ मा पनि बर्षातमा त्यही ठाँउमा चार महिना सडक अवरूद्ध भएको थियो ।

    हिउँदमा सडक विभागले सडक बनाए पनि बर्सातमा पहिरोले सडक भासिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले बताए । सडक बन्द भएपछि मार्तडीलगायत बजारमा दैनिक उपभोग्य सामानको मूल्य वृद्धि हुन थालेको छ ।

    जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीलाई जिल्ला बाहिर लैजान समस्या भएको छ । बूढीगंगा नगरपालिकाको अम्कोटस्थित सडक पहिरोको उच्च जोखिममा छ । अम्कोटमा २०७७ भदौमा सडक भासिँदा एक जनाको मृत्यु भएको थियो ।

    चार वर्षदेखि साँफे-मार्तडी सडक अवरूद्ध हुँदै आएको छ । सडकबारे सम्बन्धित निकायलाई जानकारी गराए पनि वास्ता नगरेको नागरिक समाजका अगुवा सन्तोष विकले जानकारी दिए ।

    अम्कोटको पहिरोबारे भूगर्वविद् आएर माटोको अध्ययन गरिसकेको छ । बर्षातमा पूर्णरूपमा बन्द हुने उक्त ठाउँमा वैकल्पिक मार्गका लागि पहल गरिनुपर्ने स्थानीयको माग छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij