वेबटिभी खबर
काठमाडौं । दसैँको समयमा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यलयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ । आज ११० सवारीसाधनमा जाँच गर्दा नियमविपरीत भेटिएका ४३ सवारीसाधन कारबाहीमा परेका हुन् ।
दसैँका बेलामा सवारी दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत सवारी चालकहरूलाई यात्रुलाई अनावश्यक हैरानी नदिन, तोकिएको भाडादरभन्दा बढी भाडा नलिन, चालक, सहचालक र यात्रुलाई समेत प्रहरी टोलीले सतर्क गराएको छ ।
प्रहरी प्रमुखसहित ८ जनाको टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गरेको थियो भने माथिल्लो डुंगेश्वर, तल्लो डुंगेश्वर, दैलेख, सुर्खेत सडक खण्डको जिरो प्वाइन्ट दुल्लु, राकम कर्णाली राजमार्ग, रानीमत्ता, पाल्तडाका विभिन्न मातहतका प्रहरी चौकीमार्फत जिल्लाभर सवारी जाँच गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताए ।
त्यस्तै दसैँ नजिकिएसँगै देश-विदेशबाट जिल्ला फर्कने क्रम बढिरहेको छ । जिल्लाको आठबिस नगरपालिका, गुराँस, प्रहरी चौकी तल्लो डंगेश्वर, प्रहरी चौकी बेस्तडा नारायण नगरपालिकालगायत १० स्थानमा यात्रु सहायता केन्द्र स्थापना गरिएको छ ।
यात्रुहरूका समस्या समाधानसँगै चाडबाडका बेलामा आइपर्ने अन्य समस्या समाधानका लागि यात्रुकक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij