वेबटिभी खबर
काठमाडौं । मनकुमारी दनुवारले आफ्नो जीवनको ५० वसन्त भालेको डाकोसँगै पानी लिन खोलामा पुगेर बिताइन् । तर हिजोआज भने उनलाई पानीको कुनै चिन्ता छैन ।
जतिबेला चाहिन्छ, उति बेला घरको आँगनमा भएको धारामा गएर पानी थाप्नपाइन्छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको दनुवार बस्तीको जीवनशैली अचेल यही कारणले फेरिएको छ ।
त्यहाँको प्रत्येक घरमा खानेपानी, शौचालय र धुँवा रहित चुल्हो बनाउने लहर चलेको छ । मेलम्ची नगरपालिकाको कारण यो सम्भव भएको हो ।
१२० घरधुरीमा खानेपानीको धारासँगै शौचालय पनि बनाइएपछि गाउँमा सरसफाइ पनि भएको छ ।
कालू दनुवार भने, ‘हाम्रो त सपना पूरा भएको छ । म यहीँ गाउँमा हुर्किया हुँ, यस्तो होला भनेर त सोचेको पनि थिइन् । सपना जस्तै भयो ।’
खानेपानीवाट सुरु भएको अभियान, बाटो-घाटो सरसफाइ गर्न होस् या पहिरो रोकथाममा पनि विस्तार भएको छ ।
अब शिक्षा, स्वास्थ्य, चेतना जागरण हुँदै सिंगो बस्ती परिवर्तनको लागि सामूहिक प्रयास सुरु गरिनेछ मेलम्ची नगर उपप्रमुख उमा प्रधानले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij