Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बोका–च्यांग्राको बिक्री नवमीसम्म

बोका–च्यांग्राको बिक्री नवमीसम्म

  • 733
    SHARES
  • बोका–च्यांग्राको बिक्री नवमीसम्म

    काठमाडाैं । चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ ।

    दैनिक उपभोग्य वस्तुमा दिइएको छुटका कारण यस्ता पसलमा उपभोक्ताको आकर्षण बढेको हो । सरकारको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यही असोज १ गतेदेखि ४१ जिल्लाका ४५ स्थानमा सुपथ मूल्य पसल सञ्चालमा ल्याएको छ । काठमाडाैंमा मात्रै चार स्थानमा सुपथ मूल्य पसल सञ्चालित छन् । ती पसल आगामी कात्तिक १५ गतेसम्म चल्नेछन् ।

    अन्य बजारको तुलनामा खाद्य व्यापार कम्पनीको सुपथ मूल्य पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य कम रहेकाले उपभोक्ताको भीड बढेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । ‘काठमाडाैंसहित अन्य जिल्लामा रहेका कम्पनीको ‘आउटलेट’मा उपभोक्ताको भीड छ’, उनले भने । सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण छ, देशभर उत्साहजनकरूपमा उपभोग्य वस्तु बिक्री भइरहेको छ ।

    कम्पनीले एक महिनाको अवधिमा रू पाँच करोड ४० लाखको दैनिक उपभोग्य वस्तु बिक्री गर्ने लक्ष्य लिएको छ । पन्ध्र दिनका अवधिमा रू एक करोड ५० लाखको सामान बिक्री भएको  र एक हजार क्विन्टल बढी खाद्य सामग्री बिक्री भइसकेको कम्पनीले जनाएको छ ।

    आउटलेटबाहेक कम्पनीले अनलाइनबाट पनि खाद्य वस्तुको अर्डर लिने र निःशुल्क होम डेलिभरी गर्ने गरिरहेको छ । कम्पनीले गोगो २०, दराजलगायत अनलाइन सेवा प्रदायक संस्थाबाट घरघरमै निःशुल्करूपमा खाद्य वस्तु पुर्याइरहेको नायब महाप्रबन्धक खनालले बताए । काठमाडाैं, पोखरा र सुर्खेतमा होम डेलिभरी सेवा सञ्चालनमा छ ।

    सुपथ मूल्य पसलमा दाल, चामल, तेल, नुन, गेडागुडीलगायत खाद्य वस्तु उपलब्ध छन् । कम्पनीसँगै दुग्ध विकास संस्थान र नेशनल ट्रेडिङले पनि सुपथ मूल्यमा उपभोग्य वस्तु बिक्री गरिरहेका छन् ।

    बोका–च्यांग्राको बिक्री नवमीसम्म

    सुपथ मूल्य पसल फूलपातीको दिनसम्म खुला रहनेछ । यद्यपि, खसी, बोका तथा च्यांग्राको बिक्री भने नवमीसम्म चल्नेछ । कम्पनीले दसैँका अवसरमा खसी, बोका तथा च्यांग्राको मूल्य नियन्त्रण गर्न एक हजार आठ सय खसी बोका तथा पाँच सय बढी च्यांग्रा काठमाडाैं भित्र्याएको छ ।

    ‘केही खसी, बोका तथा च्यांग्रा काठमाडाैं आइसकेका छन्’, उनले भने, ‘केही आउँदै छन्, दसैँसम्म लक्ष्यअनुसारको खसी, बोका तथा च्यांग्रा बिक्री गर्छौं ।’ कम्पनीले जीउँदो खसीको मूल्य प्रतिकेजी रू छ सय ८० र च्यांग्राको मूल्य जीउँदो प्रतिकेजी रू एक हजार दुई सय ६० तोकेको छ । यसमा प्रतिकेजी रू १० छुट दिइएको छ ।

    कम्पनीले धादिङ, मकवानपुर र दाङबाट खसी बोका तथा दार्चुलाको अपि क्षेत्रबाट च्यांग्रा ल्याएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij