वेबटिभी खबर
काठमाडाैं । घटस्थापनाको दिनदेखि नै हिन्दूको महान् चाड दसैँ प्रारम्भ भइसकेको छ । रेडियो नेपालबाट गुञ्जिने मालश्री धुनदेखि हरेक बिहान आउने रेडियो नाटकले चाडलाई महसुस गराउँछ ।
दसैँलाई लक्षित गर्दै धेरै गीत तयार भएका छन् । हरेक वर्ष नयाँ गीतहरू सार्वजनिक हुने भए पनि केही ‘सदाबहार’ छन् । परदेशमा रहेका र मुग्लान भासिएकाको भावनाको प्रतिनिधित्व गर्ने गीतसँगै पुराना गीतको दबदबा कायमै छ ।
कालजयी र मर्मस्पर्शी लाग्ने ती गीत वर्षौँदेखि बजिरहेका छन् । रेडियो तथा टिभीमा घन्किने मालश्री धुनले नै दसैँको रौनक भित्र्याउँछ ।
सर्वाधिक बज्ने गीत हो ‘दसैँ आयो’ । फिल्म ‘मुग्लान’ मा समावेश गीतले घर आँगनमै दसैँ भित्रिएको अनुभूत गराउँछ । लोकनाथ सापकोटाको तयार पारेकाे शब्दमा स्वर उदितनारायण झा तथा दीपा झाले दिएका छन् ।
गीतमा सुरेश अधिकारीकाे संगीत छ । रातो टीका, जमरा, पिङ खेल्दाको अनुभूतिसँगै घरपरिवारको खुसियाली समेटिएको गीतको भिडियो दर्शकमाझ प्रिय नै छ ।
स्वरसम्राट नारायणगोपालको स्वर दिएको ‘बिछोडको पीडा’ पनि दसैँमा बज्ने गीतमध्येको एक हो । नारायण गोपालसँगै दिलमाया खातीले स्वर दिएको गीतले दसैँमा गाउँ फर्किरहेका युवाको प्रतिनिधित्व गरेको छ ।
‘बिछोडको पीडा नसकी खप्न दसैँका बेलामा, तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा’ बोलको यो गीतले परदेशमा रहँदाको पीडा एवम् घर फर्कने चाहनालाई उजागर गरेको छ । गीत रत्नशमशेर थापाले लेखेका हुन् ।
दसैँ, तिहारको उत्साह, उमंग र दुःखलाई प्रतिनिधित्व गर्ने गीतमध्येको एक हो सुगम पोखरेलले तयार गरेकाे ‘दसैँ तिहार’ । रवि श्रेष्ठले लेखेकाे गीतमा संगीत स्वयं सुगमले नै दिएका छन् ।
परदेशीले घरपरिवारप्रति पोखेको बेदनासहितको गीतमा दसैँमा छोराको बाटो कुरिरहेका आमाबाबु मात्र होइन, तिहारमा माइतीको पर्खाइमा रहेका चेलीको भावनासमेत समेटिएको छ ।
महान्् चाडको अर्को पाटोलाई कमेडी शैलीमा चित्रण गरिएको गीत हो यो ‘दसैँ नै हो कि’ । योगेश्वर अमात्यले स्वर दिएको गीतमा उत्साह उमंगसँगै आर्थिक व्ययभार थपिने यथार्थलाई समेटिएको छ ।
दसैँमा बज्ने गीतमध्ये ‘रातो टीका निधारमा’ उत्तिकै लोकप्रिय छ । दसैँको उत्साहलाई चित्रण गरिएको गीतलाई सहदेव ढुंगानाले रचना रहेका हुन् । यसमा शम्भूजित बाँस्कोटाले संगीत र उमेश पाण्डे र रमना श्रेष्ठले स्वर दिएका छन् ।
वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा पहिले दसैँ, तिहार, होली पर्वसँग फिल्ममा आउँदा त्यहीअनुसारको गीत तयार गरिने प्रचलन रहेको बताउँछन् । उनको गीत ‘रातो टीका निधारमा’ अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छ ।
‘मैले सिर्जना गरेको गीतले तात्कालीन समयमा राम्रो प्रभाव छाडेको रहेछ । दसैँलाई महसुस गराउने भएकाले नै पुस्तान्तरण भइरहेको छ । हिजोदेखि आजसम्म गीतलाई दसैँमा उत्तिकै सेलिब्रेट गरिन्छ’,संगीतकार बाँस्कोटाले भने ।
संगीतकारसँगै गायकसमेत रहेका अर्जुन पोखरेलले आफूलाई स्रोताको हिसाबले पुरानै दसैँ गीत प्रिय लाग्ने बताए । उनी भन्छन्,‘नयाँ गीतहरू तयार गर्न निर्माता तथा निर्देशक तयार हुनुभएन । दसैँ, तिहारमा रहेर बनेका गीत त्यससमयमा मात्र बज्छ भन्ने सोचले गर्दा नै नयाँ गीत आएको छैन ।’
फिल्म झैँ चर्चा र लगानी एक्लरूपमा आउने गीतले नपाउने हुँदा नोटिस नभएको उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij