Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

ड्रागन फल र कागती खेतीबाट वार्षिक १२ लाख आम्दानी गर्छन् भोजपुरका शम्भुप्रसाद  

ड्रागन फल र कागती खेतीबाट वार्षिक १२ लाख आम्दानी गर्छन् भोजपुरका शम्भुप्रसाद  

  • 391
    SHARES
  • ड्रागन फल र कागती खेतीबाट वार्षिक १२ लाख आम्दानी गर्छन् भोजपुरका शम्भुप्रसाद  

    भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट आम्दानी गरेका छन् । उनले व्यावसायिक ड्रागन फल र कागती खेतीबाट वार्षिक रू १२ लाखसम्म आम्दानी गर्दै आएको बताए ।

    सुक्खा क्षेत्रमा पनि राम्रो उत्पादन हुने भएपछि किसानले ड्रागनको व्यावसायिक खेती गरिरहेका छन् । १० वर्षअघिबाट व्यावसायिक खेती थालेका उनले एक हजार पाँच सय पिलरमा ड्रागन लगाएका छन् ।

    अहिले तीन सय वटा पिलरमा लगाएको ड्रागनले उत्पादन दिन थालेको छ । ८५० केजी बिक्री गरिसकेको र एक हजार केजीको हाराहारीमा टिप्न बाँकी रहेको नेपालले जानकारी दिए ।

    त्यस्तै नेपालले १८ रोपनी क्षेत्रमा कागतीको व्यावसायिक खेती गरिरहेका छन् । फलफूल खेतीबाट वार्षिक रू १२ लाखसम्म आम्दानी हुने गरेको कृषक नेपालले बताए ।

    ‘फलफूल खेतीबाट राम्रै आम्दानी गरिरहेको छु’, उनले भने, ‘वर्षमा रू १२ लाखसम्म आम्दानी हुन्छ । विस्तार गरेको सबै ठाउँबाट उत्पादन हुने हो भने अझ आम्दानी बढ्छ ।’ 

    कृषक नेपालले अहिले आफ्नो पुर्खौली भूमिमा करीब १७ रोपनी क्षेत्रफलमा ड्रागन फल लगाएका छन् । 

    ड्रागन फल रातो प्रतिकेजी रू पाँच सय र सेतो प्रतिकेजी रू चार सयमा बिक्री हुने गरेको छ । त्यस्तै कागती फार्मबाट प्रति केजी रू एक सयमा बिक्री हुने गरेको छ । 

    यहाँ उत्पादन भएको फल स्थानीय बजारसँगै काठमाडौं जाने गरेको छ । सडकको कारण बजारसम्म पुर्याउन भने सास्ती हुने गरेको कृषक नेपालको भनाइ छ । कच्ची सडक वर्षातले हिलाम्य हुँदा उत्पादित वस्तुलाई ढुवानीमा समस्या छ । 

    ‘मैले यहाँको उत्पादनलाई बढी मात्रामा काठमाडौं पठाउने गरेको छु’, कृषक नेपालले भने, ‘बजार माग राम्रो छ । तर सडकको कारणबजारसम्म लैजान समस्या छ । सडक राम्रो भए अझ राम्रो आम्दानी लिन सकिन्थ्यो ।’

    नेपालले ‘दानाबोटे फलफूल तथा कृषि फर्म’ दर्ता गरेर व्यावसायिक फलफूल खेती थालेका हुन् ।

    जिल्लामा पहिलोपटक व्यावसायिकरूपमा ड्रागनको खेती थालेका नेपाल उदाहरणीय कृषकको रूपमा परिचित छन् । उनले २२ वर्ष विराटनगरमा बिताएर गाउँमा फर्केर व्यावसायिक खेतीमा लागेको सुनाए ।  

    उनले भने, ‘२२ वर्ष विराटनगर बसेँ । गाउँ फर्केर व्यावसायिक खेतीमा लागेको छु । गाउँमा फर्केर आएर खेती गर्दा यहाँका साथीहरूले धेरै थरीका कुरा पनि गरे । अहिले म व्यवसायमा सफल बन्दै गएको छु ।’आफैंले यसको बिरूवा उत्पादन थालेको नेपालको भनाइ छ । ड्रागन फल लागेको ४५ दिनमा खान मिल्ने उनको भनाइ छ ।

    पाकेको ड्रागन फललाई लामो समयसम्म सामान्य तापक्रममा भण्डारण गर्न सकिने हुनाले चाँडो बिग्रने समस्या हुँदैन । प्रशस्त मात्रामा भिटामिन र मिनरल हुने ड्रागन फलमा क्यान्सर प्रतिरोधी गुण हुने विज्ञ बताउँछन् । प्राविधिकका अनुसार रोपेको दुई वर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । ड्रागनको एउटै बोटबाट धेरै वर्षसम्म फल लिन सकिने नेपालको भनाइ छ । आफ्नो फर्ममा तीन सय ग्रामदेखि नौ सय ग्रामसम्मको फल फलेको उनको भनाइ छ ।

    व्यावसायिकरूपमा खेती गरिरहेको भए पनि राज्यको तर्फबाट सहयोग नपाएको उनले गुनासो गरे । आफूले गरिरहेको कामको धेरैले प्रशंसा गरे पनि अन्य सहयोग नपाएको उनको भनाइ छ । कृषक नेपालले भने, ‘मैले खेती गरेको देखेर हौसला दिने धेरै छन् । सरकारबाट खास सहयोग पाएको छैन । फार्मसम्म आउनको लागि सडक नहुँदा डोकोमा बोकेर सडकसम्म लैजाने गरेको छु ।’

    सिउँडी प्रजातिको फल भएकाले यसको खेतीका लागि त्यति धेरै पानी, मलखाद र हेरचाह आवश्यक पर्दैन । यसको खेतीको लागि दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने जमिन उपयुक्त हुने गर्दछ । समुद्री सतहदेखि एक हजार पाँच सय मिटरसम्म उचाइमा खेती गर्न सकिन्छ । कम सिँचाइमा पनि उत्पादन दिने भएकाले सुक्खा क्षेत्रमा पनि खेती गर्न सकिने कृषक बताउँछन् ।

    यसको वैज्ञानिक नाम ‘हाइलोसेरूस अन्डटुस’ हो । ड्रागन फल औषधियुक्त गुण भएकाले स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । फलको स्वादमा गुलियो तथा अमिलोपनाको मिश्रण भएको हुन्छ । खेतीको लागि निकासयुक्त, प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको बलौटे, दोमट तथा चिम्टाइलो दोमट माटो उपयुक्त हुने कृषकको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij