Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

मुग्लिन-पोखरा सडक विस्तार रोकियो

मुग्लिन-पोखरा सडक विस्तार रोकियो

  • 353
    SHARES
  • मुग्लिन-पोखरा सडक विस्तार रोकियो

    काठमाडौं । दसैँ बिदाका कारण मुग्लिन-पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा काम रोकिएको छ । सडकखण्ड विस्तार योजनाका लागि खटिएका कामदार दसैँ बिदाका कारण घर गएकाले काम रोकिएको हो ।

    मुग्लिन पोखरा सडक विस्तार योजना पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदीका अनुसार फूलपातीदेखि मजदुरलाई बिदा दिइएको छ ।

    सुवेदीले भने, ‘दसैँ  अवधिभर सडक विस्तारको काम हुँदैन, कामदार फर्किएपछि सम्भवत पूर्णिमापछि कामलाई पुनः सञ्चालन गरिनेछ ।’ सडक विस्तार योजनाको काम ढिला भएकाले अब तीव्र गतिमा सञ्चालन गरिने उनले बताए ।

    दसैँमा सर्वसाधारणलाई यात्रा गर्न सहज होस् भन्नका लागि साना-साना खाल्डाखुल्डी मर्मतको काम गरिएको उनले बताए । यद्यपी अन्तिम समयसम्म काम भएका ठाउँका ठूला खाल्डा भने मर्मत गर्न नसकिएको उनले बताए ।

    पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिएपनि तनहुँ खण्डमा भौतिक प्रगति भने न्यून छ । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरेर काम गरिएको छ ।

    पूर्वी खण्ड अन्तर्गत मुग्लिनदेखि जामुनेसम्मको कामका लागि वि.सं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ ।

    पश्चिम खण्ड अन्तर्गत जामुनदेखि पोखरासम्म वि.सं २०७८ जेठ २ गते सम्झौता भई वि.सं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । मुग्लिन पोखरा सडक योजना (पूर्वी) खण्डमा हालसम्म तनि दशमलव ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।

    आर्थिक वर्ष ०७८/७९ मा पूर्वी खण्डका लागि २ अर्ब ५१ करोड ८८ लाख आठ हजार विनियोजन गरिएको थियो । तर यस अवधिमा ५७ करोड ३७ लाख ४ हजार रूपैयाँ मात्रै खर्च भएको छ ।

    कूल विनियोजितमध्ये ७७ प्रतिशत बजेट खर्च हुन नसकेको सुवेदीले बताए । योजनाको पश्चिम खण्डतर्फ पाँच प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।

    वित्तीय प्रगति भने २३ प्रतिशत रहेको योजनाका इन्जिनियर नारायण पौडेलले जानकारी दिए । आर्थिक वर्ष ०७८/७९ मा यो खण्डका लागि रु एक अर्ब ९१ करोड ९५ लाख १८ हजार विनियोजन भएकामा रु ४४ करोड ३६ लाख ४६ हजार खर्च भएको छ ।

    वि.सं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

    चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाईको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ ।

    दुलेगौंडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाई ४६ मिटरको हुनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij