वेबटिभी खबर
कञ्चनपुर । बिहीबार साँझ महेन्द्रनगरस्थित बसपार्क नजिक बसको ठक्करबाट मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका-८ का २० वर्षीय सुनिल रानाको मृत्यु भयो ।
एक दिनअघि बुधबार मात्रै कञ्चनपुरको पुनर्वास नगरपालिका-११ हुलाकी सडकमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो ।
मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक कैलालीको धनगढी उपमहानगरपालिका-३ का २३ वर्षीय गुड्डु राना र सोही मोटरसाइकलमा सवार कञ्चनपुरको पुनर्वास नगरपालिका-१० विकास बस्तीका २२ वर्षीय विशाल रानाको मृत्यु भएको हो ।
गत साता मात्रै दुर्घटनामा परी ६ जना घाइते भएका छन् । गत सोमबार पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका-५ स्थित अर्जुनी ब्यारेक नजिकै भैँसीसँग अटोरिक्सा ठोक्किँदा शुक्लाफाँटा-७ का ४० वर्षीय पुना खत्री, अटोरिक्सामा सवार सोही ठाउँकी ४० वर्षीया राजमती भट्ट र उनका २३ वर्षीय छोरा पुष्पराज घाइते भए ।
सोही दिन गाईसँग मोटरसाइकल ठोकिँदा कृष्णपुर नगरपालिका-६ का ४८ वर्षीय टेकराम चौधरी र पछाडि सवार ५० वर्षीय बाधुराम चौधरी घाइते भए । त्यसैगरी महेन्द्रनगर बजारमा स्कुटर दुर्घटना हुँदा भीमदत्त-१२ का ३५ वर्षीय हेमन्त रावल घाइते भए ।
गत असारमा पनि पूर्व पश्चिम राजमार्गमा बसले ठक्कर दिँदा स्थानीय ३० वर्षीया बिमला जोशीको मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो समय कञ्चनपुरमा सवारीसाधन दुर्घटनाको दर भयावह देखिएको छ ।
सवारीसाधन दुर्घटनामा परी हरेक वर्ष धेरैले अकालमै ज्यान गुमाउँदै आएका छन् । गत साउन १ गतेदेखि हालसम्म कञ्चनपुरमा दुर्घटनामा परेर आठ जनाको ज्यान गइसकेको छ। दुर्घटनामा १२ जना घाइते भएका छन् ।
गत आर्थिक वर्षमा जिल्लाभरि एक सयभन्दा बढी सवारीसाधन दुर्घटनामा परेका थिए । ती दुर्घटनामा परी ३१ जनाको मृत्यु भयो भने ६१ जना गम्भीर घाइते भएका थिए । यसैगरी ६४ जना सामान्य घाइते भए ।
सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेका छन् । जिल्ला ट्राफिक कार्यालयका प्रमुख उमेश चन्दका अनुसार पछिल्लो समय सवारीसाधनको अत्यधिक चाप र सडक साँघुरो भएका कारण दुर्घटना बढी हुने गरेका छन् ।
‘सडक साँघुरा छन्, यात्रुको चाप धेरै भयो’, उनले भने, ‘सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन्, नागरिक सचेत हुन जरुरी छ ।’ उनले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सवारीसाधनका चालकलाई प्रशिक्षण दिएर सचेत गराउने कार्यक्रम गर्दैआएको बताए ।
सामाजिक अभियन्ता मदन चन्दले चालक र सरकारी निकाय दुर्घटनामा उत्तिकै दोषी भएको बताउँछन् । ‘चालकको लापर्बाही त छँदै छ, सरकारी पक्षको पनि गल्ती देखिन्छ,’ उनले भने, ‘चालकले थाहा भएर पनि ट्राफिक नियम उल्लंघन गर्दैआएका छन्, तर त्यसको अनुगमन छैन ।’
उनले चालक, ट्राफिक प्रहरी, आम नागरिक सबै सचेत भए मात्रै दुर्घटना न्यूनीकरण हुने जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij