Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी

अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी

  • 537
    SHARES
  • अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी

    रामेछाप । रामेछाप नगरपालिकास्थित सुकाजोरका किसानले अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी गर्ने गरेका छन् । रामेछाप-७ मा अकबरे खुर्सानीको अचार उद्योग सञ्चालन गरी त्यहाँका कृषकहरूले राम्रो आम्दानी गर्दै आएका हुन् ।

    सुरुमा आफूले घरायसी प्रयोग गर्ने गरी उत्पादन सुरु गरेको भए पनि पछि गएर त्यसलाई व्यावसायिकरूपमा अचार उद्योग सुरु गरेको कृषक चुडाबहादुर कार्कीले बताए ।

    उनले आफ्नो पाँच रोपनी जग्गामा दुई हजार अकबरे खुर्सानीको खेती गरेर अचार उद्योग सञ्चालन गरेका हुन् । अकबरेका अलावा निबुवा, कागती, करेला, मूला, अमलालगायत विभिन्न प्रकारका कच्चा पदार्थहरू जम्मा गरी अचार बनाएर बिक्री गर्ने गरेको उनले जानकारी दिए ।

    उनले अचार बेचेर वार्षिक १५ लाखसम्म आम्दानी गरेका छन् । गाउँमा सामूहिकरूपमा पनि अकबरे खुर्सानी खेती गरिएको छ ।

    यो खुर्सानीले बेफाइदा नगर्ने भएकाले पनि गाउँका अधिकांश कृषकहरू यस खेतीतर्फ लागेका छन्, कम मेहनत र खर्चमा यो खुर्सानी उत्पादन हुने र उत्पादन भएको खुर्सानी गाउँमै खपत हुने भएपछि स्थानीयहरूको यस खेतीप्रति आकर्षण बढेको हो ।

    अकबरे खुर्सानीको अचारको मुख्य बजार रामेछापको सदरमुकाम मन्थली, सिन्धुलीको खुर्कोट र काठमाडौं भएको कार्कीले बताए ।

    उनले भने, ‘अहिले गाउँमा खुलेको अचार उद्योगले गाउँमा उत्पादन भएका जम्मै खुर्सानी खरिद गरिदिन थालेपछि गाउँलेहरू अधिकांशले यसको खेती गरिरहेका छन् । आफ्नो उमेर ढल्कँदै गएको र यस पेसालाई निरन्तरता दिइयोस् भनेर गाउँका अरू कृषकहरूलाई पनि यो सीप सिकाउने गरेको छु ।’

    उमेरले ६५ लागेका कार्कीको सीप र जाँगरमा कुनै कमी देखिँदैन । कहिले कोभिड र कहिले डेंगु महामारीले गर्दा व्यवसायमा कमी आउने गरेको भए पनि उनी उत्साहित भएर आफ्नो कर्ममा लागिरहेका छन् ।

    नौवटा वडा रहेको नगरपालिकामा बढी जसो खुर्सानी, अदुवा र जुनार उत्पादन हुने हुनाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा नगरपालिकाले यसलाई जुनार जोनकारूपमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij