Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सडक अवरुद्ध हुँदा म्याग्दीको आन्तरिक यातायात सेवा पाँच दिनदेखि ठप्प 

सडक अवरुद्ध हुँदा म्याग्दीको आन्तरिक यातायात सेवा पाँच दिनदेखि ठप्प 

  • 400
    SHARES
  • सडक अवरुद्ध हुँदा म्याग्दीको आन्तरिक यातायात सेवा पाँच दिनदेखि ठप्प 

    म्याग्दी । म्याग्दीको आन्तरिक यातायात सेवा पाँच दिनदेखि ठप्प भएको छ । जिल्ला सदरमुकाम बेनी बजारदेखि छिमेकी मुस्ताङ जोड्ने बेनी–जोमसोम, बेनी–दरबाङलगायत म्याग्दीका मुख्य र सहायक सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ ।

    वर्षात्का कारण पहिरो खसेर सडक अवरुद्ध बनेका बेनी–दरबाङ सडकका सवारी चालक दिल शेरपुञ्जाले बताए । जलेश्वर, बैसरी, नौनीबगर, जलथले, गुइँठे, रुप्से र काभ्रेभिरको सडकका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङ जाने आउने पर्यटकलाई पनि समस्या भएको छ ।

    विगतका वर्षमा दसैँलगत्तै मुस्ताङ घुम्न आउने पर्यटकको घुइँचो लाग्ने गर्दथ्यो । यसपाली सुनसान छ । आएकालाई मुस्ताङ पुग्न र फर्कन सास्ती भएको छ । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई बेनीसँग जोड्ने बेनी–दरबाङ सडक फापरखेत, सिम र बाङ्गे पहिरोमा अवरुद्ध भएको छ ।

    दसैँ मनाउन जन्मथलो पुगेका कार्यक्षेत्र फर्कन र आफन्त तथा माञ्यजनबाट टीका आर्शिवाद लिन हिँडेका गन्तव्यमा पुग्न पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । बिरामीलाई पिठ्युँ र डोकामा बोकेर अस्पताल पुर्‍याउनुपरेको मालिका–२ रुमका टेकबहादुर रसाइलीले बताए ।

    ठाउँठाउँमा गाडी परिवर्तन गर्न र तोकिएकोभन्दा महँगो भाडा तिर्नुपरेको मालिका गाउँपालिका–७ बिमकी सुभद्रा पौडेलले बताइन् । ‘ढुङ्गा खसिरहने पहिरो पार र चार वडा गाडी परिवर्तन गरेर बेनी आइपुगियो’,उनले भनिन्, ‘यसपालीको दसैँ मनाएर कार्यक्षेत्रमा फर्कन धेरै कष्ट भयो ।’

    सामान्य अवस्थामा दुई घण्टा लाग्ने ठाउँमा पुग्न पूरै दिन हिँड्नुपरेको र प्रतिव्यक्ति रु पाँच सय भाडा लाग्ने गरेकामा रु एक हजारभन्दा बढी तिर्नुपरेको यात्रुले गुनासो गरेका छ । असोज १९ गतेदेखि सुरु भएको झरी आज दिउँसोमात्र रोकिएको छ । झरी रोकिएपछि स्थानीय तह, बेनी–जोमसोम–कोरला सडक आयोजना र पूर्वाधार विकास कार्यालयले डोजर परिचालन गरेर सडक मर्मत थालेको जनाएका छन् ।

    यसैबीच म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा अवरुद्ध भएको विद्युत् सेवा पाँच दिनपछि शनिबारदेखि सञ्चालन भएको छ । पहिरो र रुख ढलेर अवरुद्ध भएको विद्युत् लाइन मर्मत गरेर सञ्चालन गरिएको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले जनाएको छ । विद्युत् अभावमा ग्रामीण क्षेत्रमा फोन सेवा अवरुद्ध भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij