वेबटिभी खबर
काठमाडौं । इटालियन सिरी ए अन्तर्गत शनिबार राति भएको खेलमा एसि मिलानले युभेन्ट्सलाई २–० अन्तरले पराजित गरेको छ । एसि मिलानको जितमा फिकायो तोमोरी र ब्राहिम डियाजले एक–एक गोल गरे ।
बलियो युभेन्टसबिरुद्ध मिलानले दुबै हाफमा एक–एक गोल गरेको थियो । जितपछि ९ खेलबाट २० अंक जोडेको मिलान दोस्रो स्थानमा छ । एक खेल कम खेलेको नापोली समान अंकसाथ शीर्ष स्थानमा छ । युभेन्टस ९ खेलबाट १३ अंक सहित आठौं स्थानमा छ ।
रियलको कठिन जित
इडर मिलिटाओको निर्णायक गोलमा रियल म्याड्रीडले स्पेनिस ला लिगामा गेटाफेलाई १–० ले पराजित गरेको छ । शनिबार राति खेलको तेस्रो मिनेटमा बनाएको अग्रता जोगाउँदै रियलले महत्त्वपूर्ण तीन अंक जोडेको हो । कप्तान करिम बेन्जेमा चोटका कारण मैदान बाहिर रहँदा रियलले कठिन जित निकाल्यो ।
८ खेलबाट २२ अंक जोडेको रियल शीर्ष स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोना १९ अंक सहित दोस्रो स्थानमा छ । गेटाफे समान खेलबाट ७ अंक जोड्दै १६औं स्थानमा छ ।
पिएसजी रोकियो
रक्षक सर्जिओ रामोसले रातो कार्ड सामना गरेको खेलमा पेरिस सेन्ड जर्मेन (पिएसजी) गोलरहित बराबरीमा रोकिएको छ । स्टार स्ट्राइकर लियोनल मेसी बिना मैदान उत्रिएको पिएसजी शनिबार राति फ्रेन्च लिग वानमा रेइम्ससँग अंक बाढ्न बाध्य भयो ।
अर्का स्टार नेयमार समेत बेन्चमा रहेको स्थितिमा पिएसजीको अग्रपंक्ति केलियम एम्बाप्पेले सम्हालेको थिए । उनी समेत गोलबिहीन रहे । नेयमार खेलको ५७औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
खेलको ४१औं मिनेटमा रक्षक रामोसले दोहोरो पहेँलो कार्डको सामना गरेपछि पिएसजी पहिलो हाफमै १० खेलाडीमा सिमित भएको थियो । बराबरीसँगै १० खेलबाट २६ अंक जोडेको पिएसजी शीर्षस्थानमा छ । समान खेलबाट ८ अंक जोडेको रेइम्स १४औं स्थानमा छ ।
सिटी र चेल्सीको सहज जित
साविक विजेता म्यानचेस्टर सिटी र चेल्सीले शनिबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेका छन् । सिटीले साउथह्याम्पटनलाई ४–० गोल अन्तरले हरायो । सिटीको जितमा जोआओ कन्सेलो, फिल फोडेन, रियाद मेहरेज र एर्लिङ हालान्डले एक–एक गोल गरे ।
जितसँगै सिटीले ९ खेलबाट २३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । साउथह्याम्पटन ७ अंक जोडेर १६ औं स्थानमा छ । अर्को खेलमा चेल्सीले उल्भ्सलाई ३–० ले हरायो । चेल्सीको जितमा काइ हार्भट्ज, क्रिस्टियन पुलिसिच र अर्मान्डो ब्रोजाले एक–एक गोल गरे ।
जितसँगै ८ खेलबाट १६ अंक जोडेको चेल्सी चौंथो स्थानमा उक्लिएको छ छ । उल्भ्स ६ अंक जोडेर १८ औं स्थानमा छ । राति भएको अर्को खेलमा टोटनहमले ब्राइटनलाई १–० ले पराजित गर्यो । जितसँगै टोटनहम तेस्रो स्थानमा उक्लिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij