Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

फेवातालको जलकुम्भी सरसफाई गरिँदै 

फेवातालको जलकुम्भी सरसफाई गरिँदै 

  • 409
    SHARES
  • फेवातालको जलकुम्भी सरसफाई गरिँदै 

    पोखरा । पोखराको फेवातालमा जलकुम्भी झार फैलिएपछि आज बिहानदेखि सरसफाई अभियान सुरु गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न संघ संस्थालाई फेवाताल सरसफाईमा जुट्न आग्रह गर्दै सरसफाई अभियान सुरु गरिएका हुन् ।

    सरसफाईको पहिलो दिन विभिन्न संघ संस्था, सरकारी कर्मचारी र सुरक्षाकर्मीद्वारा डुंगा तथा अन्य साधनको मद्दतबाट जलकुम्भी झार बाहिर निकाल्ने काम भएको महानगरपालिकाका प्रमुख आचार्यले बताए ।

    लगातारको वर्षासँगै तालको सबैजसो भागमा जलकुम्भी फैलिएको छ । बिहान तालको ड्यामसाइटबाट उत्तरतर्फको खहरेसम्म जलकुम्भी झार निकालिएको छ । तालमा झार धेरै भएकाले सबै झार निकाल्न एक हप्ता समय लाग्ने प्रमुख आचार्यको भनाइ छ ।

    तालको बीचभागमा अवस्थित तालबाराही मन्दिर दर्शन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई जलकुम्भीले अवरोध गर्ने गरेको छ । सो अवसरमा महानगर प्रमुख आचार्यले फेवाताल नेपालीको मात्र नभइ विश्वकै पर्यटकीय सम्पदा भएकाले यसको संरक्षण गर्ने दायित्य सबैको भएको बताए ।

    फेवाताल सरसफाईमा पोखराका ३३ वटै वडाका संघ संस्था, आमा समूह, क्लबलाई सहभागी हुन आग्रह गरिएको छ । आचार्यका अनुसार ३३ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विभिन्न समूह ताल सरसफाईमा परिचालित हुनेछन् ।

    फेवातालको दायाँबायाँ नेपाल सरकारले ६५ मिटर मापदण्ड तोकेको भए पनि ती क्षेत्रमा संरचना निर्माण गर्ने कार्य अझै रोकिएको छैन । मापदण्डकै विषयलाई लिएर मुद्दा परेपछि सर्वोच्च अदालतले तत्कालका लागि महानगरपालिकालाई फेवातालको डिलबाट ६५ मिटर मापदण्ड कार्यान्वयन गर्न आदेश दिएको थियो ।

    बाह्र हजार आठ सय ७४ रोपनी क्षेत्रफलको फेवातालमा नौ हजार नौ सय ५५ रोपनी भाग पानीले ढाकेको छ । तालको पश्चिमी भागबाट आउने हर्पन खोलाको बाढीले प्रत्येक वर्ष ताल पुर्ने कार्य रोक्नुपर्ने पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष अशोक पालिखेले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij