वेबटिभी खबर
काठमाडौं । यस वर्ष मनसुन सुरु भएपछिको १०० दिनमा मनसुनजन्य विपद्का घटनाले ठूलो क्षति गरेको छ । २०७९ सालमा मनसुन जेठ २२ गतेबाट सुरु भएको थियो । गत भदौ २७ गते मनसुन सुरु भएको १०० दिन पुरा भएको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापना प्राधिकरणका अनुसार यस अवधिमा बाढी, पहिरो, अबिरल वर्षा, चट्याङ र सर्पदंशका ५१२ वटा घटना भएका थिए ।
ती घटनामा १०७ जनाको मृत्यु, ११ जना बेपत्ता, १९३ जना घाइते भएको प्राधिकरणले शुक्रबार जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । विपद्का घटनाबाट उक्त समयमा ६४३ परिवार प्रत्यक्ष प्रभावित भएका थिए ।
उक्त अवधिमा सबैभन्दा बढी चट्यांग लागेर ४६ जनाको मृत्यु भएकाे छ भने १३० जना घाइते भएका छन् । पहिरोमा परेर २७ जनाको मृत्यु हुँदा ३४ जना घाइते भएका थिए ।
बाढीमा परेर अहिलेसम्म १४ जनाको मृत्यु, १७ जना घाइते र ११ जना बेपत्ता छन् । भारी वर्षाका कारण ५ जनाको मृत्यु भयाे भने १० जना घाइते भएका छन् ।
सर्पदंशबाट १५ जनाको मृत्यु र २ जना घाइते भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पाँच प्रकारको विपद् घटनाबाट मनसुन सुरु भएपछिको एक सय दिनमा ४९ जिल्लाले मानवीय क्षति व्यहोरेको छ ।
सो अवधिमा ५ हजार ४६५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्राधिकरणले जनाएको छ । अघिल्लो वर्ष २०७८ सालमा मनसुन सुरु भएपछिको १०० दिन (२०७८ जेठ २८ देखि असोज २ गतेसम्म) मा ७१७ वटा मनसुनजन्य विपद्का घटना भएका थिए ।
ती घटनामा १७४ जनाको मृत्यु, ३७ जना बेपत्ता र १८१ जना घाइते भएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij