वेबटिभी खबर
काठमाडौं । नयाँ सरकार गठनको विषयमा थप सहमति जुटाउनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।
उक्त वार्तामा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोसमेत सहभागी छन् । देउवा निवास बूढानीलकण्ठमा जारी भेटवार्तामा देउवाले आफूलाई प्रधानमन्त्री बनाउनका लागि सहयोग गर्न ठाकुरसँग आग्रह गरेका छन् ।
नयाँ सरकारको प्रधानमन्त्री दाबी गरेका देउवाले जसपाका शीर्ष नेतृत्वसँग आफूलाई प्रधानमन्त्रीमा साथ दिन सम्वाद गर्दै आएका छन् ।
जसपामा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव देउवालाई साथ दिने पक्षमा छन् भने ठाकुर-महतो प्रधानमन्त्री केपी ओलीलाई नै नयाँ सरकार गठनका लागि साथ दिन लागिरहेका छन् ।
ठाकुर पक्षलाई सहमतिमा ल्याउन सके देउवाको नेतृत्वमा बहुमतको सरकार गठन हुनसक्ने लगभग निश्चित छ ।
एमालेको वरिष्ठ नेता माधव नेपालपक्षले सामुहिक राजीनामा दिने सम्भावना कम देखिएकाले जसपाकै नेतृत्वमा नयाँ सरकार बनाउनेबारे बैठकमा प्रस्ताव हुनसक्ने बुझिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij