Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कञ्चनपुरका घरबास भरिभराउ 

कञ्चनपुरका घरबास भरिभराउ 

  • 323
    SHARES
  • कञ्चनपुरका घरबास भरिभराउ 

    कञ्चनपुर । पछिल्लो समय कञ्चनपुरका घरबासमा पाहुनाको भीड बढ्दै गएको छ । कोरोना महामारीपछि सुनसान बनेका घरबासमा अहिले पर्यटकहरू भरिभराउ भएका हुन् ।

    यहाँको भीमदत्त नगरपालिका-१४ स्थित नयाँ गाउँमा रहेका घरबासमा पर्यटक बढ्न थालेपछि अहिले यहाँ रहेका १६ वटा घरबास भरिभराउ रहेको सञ्चालक चेतराम रानाले बताए।

    ‘कोरोना महामारीले गर्दा दुई वर्ष बन्द नै भए अहिले पाहुना आउन थालेका छन्’, उनले भने, ‘अहिले त अग्रिम बुकिङ हुने गरेका छन् ।’ उनले अहिले पोखरा लगायतका ठाउँबाट यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको रोजाइ घरबास हुने गरेको बताए ।

    ‘होटलमा महँगो र होहल्ला हुने भएकाले पनि शान्त ठाउँ खोज्छन्’, उनले भने, ‘अहिले पोखराबाट विद्यार्थीहरू आएका छन्, सबै पाहुनाघर भरिभराउ छन् ।’ अर्का स्थानीय बाबुराम रानाले घरबासमा पाहुनाको भीडभाड हुन थालेको जानकारी दिए ।

    ‘कोरोनाले त सुनसान भएको हो अहिले पाहुनाहरू बढ्न थालेका छन्’, उनले भने, ‘पाहुना आउने समय पनि यही हो ।’ विशेषगरी चाडपर्वको बेला र फागनुमा पाहुनाहरू बढी आउने गरेको उनको भनाइ छ ।

    पर्यटक बढेसँगै आयआर्जनमा समेत वृद्धि हुन थालेको रानाले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बस्तीमा घरबास सञ्चालनमा आएपछि यहाँका स्थानीयको आय स्तरमा समेत वृद्धि हुन थालेको छ ।

    ‘राना थारू बस्तीमा रहेको होमस्टेप्रति आकर्षण बढिरहेको छ’, उनले भने, ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँ आउने गरेका छन् ।’

    घरबास सञ्चालनमा आउँदा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षणसँगसँगै प्रचारप्रसारसमेत भएको रानाले बताए । ‘यहाँ आउने पाहुनाको मागबमोजिम हामीहरूले खानाका परिकारदेखि नाचगान देखाउँछौं’, उनले भने, ‘यसले हाम्रो संस्कृतिको पनि संरक्षण भएको छ र आयस्तरमा समेत टेवा पुगेको छ ।’

    पछिल्लो समय शुक्लाफाँटा आउने पर्यटक पनि बढ्न थालेका छन् । राष्ट्रिय निकुञ्जको तथ्यांकनुसार २०७५ मा दुई सय ६६ विदेशीले भ्रमण गरेका छन् भने एक सय ९३ जना सार्क मुलुकका नागरिकले भ्रमण गरेका छन् ।

    यस्तै २०७६ मा सार्क मुलुकका तीन सय आठ जनाले भ्रमण गरेका छन् भने तीन सय ५० विदेशीले भ्रमण गरेका छन् । २०७८ मा यहाँ आउने पर्यटकको संख्या बढेको छ ।  एक हजार छ सय ५१ विदेशीले भ्रमण गरेका छन् भने एक हजार २० जना सार्क मुलुकमा नागरिकले शुक्लाफाँटा भ्रमण गरेका छन् ।

    त्यसैगरी २६ हजार तीन सय ८२ स्वदेशीले शुक्लाफाँटा भ्रमण गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख किशोरकुमार मेहताले पर्यटकका लागि शुक्लाफाँटा आकर्षक गन्तव्य रहेको बताए ।

    ‘शुक्लाफाँटाको फाँटमा देखिने बाह्रसिंगाको झुण्ड पर्यटकको आकर्षण हो’, उनले भने, ‘यहाँ आउने पर्यटकको संख्या वृद्धि भइरहेको छ ।’ शुक्लाफाँटा छेउमै रहेको रानाथारू समुदायको घरबासमा आउने आगन्तुकका लागि परम्परागत पहिरनमा रानाथारू नृत्य र खानाका परिकारले स्वागत गर्ने गरेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij