Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

धानबाली भित्र्याउन भ्याइनभ्याइ

धानबाली भित्र्याउन भ्याइनभ्याइ

  • 419
    SHARES
  • धानबाली भित्र्याउन भ्याइनभ्याइ

    कैलाली । झण्डै एक साता अघि लगातार वर्षा भएर केही दिनदेखि आकाश खुलेपछि कैलाली र कञ्चनपुरका किसानलाई यतिबेला धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ ।

    अविरल वर्षा भएपछि अघिल्लो वर्ष झै पूरै धानबाली क्षति हुन लागेकोमा किसान चिन्तामा थिए तर चार/पाँच दिनको अविरल वर्षापछि आकाश खुलेपछि किसान हिजोआज झिसमिसे अँध्यारोसम्म पनि खेतमै भेटिन्छन् ।

    अहिले धान काट्न, थुपार्न र थ्रेसर गर्नमै व्यस्त देखिएका उनीहरू आकाश खुलेर धान काट्न पाएकोमा खुसी छन् । परिवारका सानादेखि ठूला सबै सदस्य कोही धान काटिरहेका हुन्छन् त कोही काटेको धान थुपारिरहेका हुन्छन् ।

    धनगढी उपमहानगरपालिका-२ की मनसरा साउदले खेतमा धान पाकेर झर्ने अवस्थामा पुगेकाले आफू बिहानदेखि खेतमा व्यस्त हुने गरेको बताइन् ।

    ‘हिजोआज घरको सबै काम छोडेर पनि खेतमै बढी समय बिताउने गरेको छु । र बिहान पनि सबेरै खेतमा जान्छौं र झिसमिसे अँध्यारोसम्म खेतमै हुन्छौं ।’ उनले भनिन् ।

    बडा दसैंको भोलिपल्टदेखि सुरु भएको बेमौसमी वर्षाले लगानी र मेहनत डुब्ने चिन्ताले यस क्षेत्रका अधिकांश किसानको मनमा खिन्नता भएको थियो तर वर्षा रोकिसँगै आकाश खुलेपछि किसानले बाली भित्र्याउन पाएपछि खुसी भएका हुन् ।

    खेतमा धान काट्दै गरेका धनगढीको पुरानो भन्सार कटान गाउँका किसान ललित विष्टले मौसम सफा भएपछि रातिको १२ बजेसम्म पनि धान भित्र्याउनका लागि थ्रिसेर मेसिनको पालो कुर्नु परेको बताए ।

    गत वर्ष वर्षाले पूरै धानबाली नोक्सान गरेपछि यसपाली छिटोछिटो बाली भित्र्याउन किसान हतारिएका छन् । कतिपय किसान त अघिल्लो वर्ष वर्षाको पानीले धानबाली नोक्सान गरेपछि त्यस किसिमको जोखिमबाट समयमै सचेत रही बाली छिटो भित्र्याउनका लागि ज्यालादारीमा थप कामदार लगाई धान भित्र्याउन लागिपरेका छन् ।

    हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्र्याउने गरेका किसान यति बेला वर्षा पछिको मौसम खुलेपछि आधुनिक उपकरण प्रयोग गरी धान भित्र्याउने गरेका छन् ।

    किसानका खेतमा यसवर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा-४ लगायत धानका उन्नत जात बढी मात्रामा देखिन्छन् । गत वर्ष वर्षाले खेत डुबानमा परेपछि किसानले हप्तौँ दिनसम्म पनि धान उठाउन सकेका थिएनन् ।

    खेत पानीले तलाउमा परिणत भएका थिए । काटेर चुट्न थुपारिएका धान खेतको पानीमै तैरिनाका साथै खेतमै धान उम्रिएर जमरा झै भएको थियो । कुहिएर धान पूर्णरुपमा क्षति भएको थियो । घरपालुवा पशुचौपायाको आहाराको लागि प्रयोग गरिने परालसमेत खेतमै कुहिएको थियो ।

  • सम्बन्धित विषय:

  • # धानबाली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij