वेबटिभी खबर
रोल्पा । रोल्पाका ग्रामिण भेगका सडक अझै खुल्न सकेका छैनन् । वर्षायाम् सुरु भएसँगै अवरूद्ध भएका अधिकांश सडक अझै खुल्न नसकेका हुन् ।
सडकको माथी र मुनीबाट पहिरो खसेपछि स्थानीयलाई हिडडुल गर्न समस्या भएको छ । पहिरोका कारण हिडडुल गर्न समस्या भएको रोल्पा नगरपालिकाका-९का दलबहादुर खत्रीले बताए ।
‘वर्षामा आएको पानीले पुरै बाटो बिग्रेर ठप्प छ’, खत्रीले भने । पहिरो नखसेको ठाउँसमेतमा सडक चिरा चिरा परेर आवात जावतमा कठिनाई भएको बताइएको छ ।
सडकमा पहिरो खसेकाले दसैं मनाउन घर जाँदा सारै सास्ती भोग्नुपरेको परिवर्तन गाउँपालिकाका लोकेन्द्र चन्दको भनाइ छ । ‘धेरै जसो ठाउँमा सडक अवरूद्ध छ सबै हिडेर जानुपर्ने बाध्यता छ’,चन्दले भने ।
जिल्लाको सदरमुकाम लिवाङसँग सबै वडा सडक सञ्जालसँग जोडिएको भएतापनि मापदण्ड विपरीत खनिएका सडकमा पहिरो खसेपछि अवरूद्ध भएका हुन् । सम्बन्धित निकायले ध्यान नदिँदा यात्रु भएपनि सवारी चलाउन मुस्कील भएको यातायात व्यवसायीले गुनासो गरेका छन् ।
मापदण्ड विपरीतका सडक खन्दा वर्षायाममा बाढी पहिरो जाने गरेको स्थानीयको भनाइ रहेको छ । वर्षा सकिएर चाडपर्वको समय सुरु भएपनि गाउँँ-गाउँँ पुग्ने सडक नखुल्दा स्थानीयले सास्ती खेप्नुपरेको छ ।
रोल्पाको सदरमुकाम लिवाङदेखि सहिद मार्ग हुँदै थवाङ जाने सडक खण्ड र सनिलस्मृति गाउँपालिकाको सुलिचौर हुँदै सुनछहरी गाउँपालिका जाने सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेर सडक अवरूद्ध भएको हो । एक नगरपालिका र नौ गाउँँपालिका रहेको रोल्पामा ७२ वडा रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij