वेबटिभी खबर
जुम्ला । विपद्को कारण देखाउँदै जुम्ला बजारमा कालोबजारी बढेको छ । खाद्य वस्तुमा अत्यधिक मूल्यवृद्धि भएको उपभोक्ताले गुनासो गरेका छन् ।
गत असाेज १९ गतेदेखि २४ गतेसम्म परेकाे अविरल वर्षाका कारण पहिराे गएर अबरूद्ध बनेकाे कर्णाली राजमार्ग अझै खुलेको छैन । त्यसकारण जुम्ला बजारमा अहिले नयाँ सामान आएको छैन तर ब्यापारीहरूले भने पुरानै सामानलाई मूल्य बढाएर बेच्न थालेका छन् ।
जुम्लाका ब्यापारीले सामान पुरानो भए पनि मूल्य बढाएर बेच्ने गरेको स्थानीय ददि नेपालीले बताए । उनले भने, ‘यसअघि एक पेटी खाने तेलको २ हजार २०० रूपैयाँ थियो तर कर्णाली राजमार्ग बन्द भएदेखि ब्यापारीहरूले २६०० देखी २८०० रूपैयाँ लिन थालेका छन् ।’
खाद्य वस्तु तथा खुद्रा सामग्रीमा पनि मनपरी मूल्य लिने गरेको उनको गुनासो छ । उनका अनुसार पहिले ल्याएको सामानको एकाएक मूल्य बढाइको छ । यस विषयमा सरोकारवाला निकाय मौन रहँदा ब्यापारीलाई अझ बल पुगेको उनको भनाइ छ ।
उनले भने, ‘जुम्लाका ब्यापारीले यतिवेला विपद्को नाममा कालोबजारी गर्दै आएका छन् ।’ नागरिकको ढाड सेक्ने गरि कालोबजारी भएको स्थानीय धनकृष्ण रावतले बताए ।
उनले भने, ‘ग्यासको पनि मूल्य एक्कासी बढेको छ । यसअघि २ हजार २५० रूपैयाँ पर्ने ग्यासलाई अहिले न्यूनतम २ हजार ८०० देखि ३ हजार रूपैयाँसम्म लिने थालिएकाे छ ।’
डिजलको मूल्य पनि ३०० रूपैयाँ लिटर पुगेको उनको भनाइ छ । खाने तेल, चिनी, चामल दाललगायतका दैनिक उपभोग्य वस्तुको मूल्यमा पनि मनपरी मूल्य वृद्धि भएपछि जुम्लाका नागरिक मर्कामा परेकाे उनले बताए ।
उनले भने, ‘विपद्मा कालोबजारी गर्दासमेत नियमन गर्ने निकाय मौन छन् ।’ ठूला डिलरलेबढी मूल्य लिने गरेकाले साना तथा खुद्रा ब्यापारीले महंगोमा सामान बेच्ने गरेको उनको भनाइ छ ।
त्यस्तै कृत्रिम अभाव सिर्जना गरि कालोबजारी गर्नेलाई कानूनी कारबाही गर्नुपर्ने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij