वेबटिभी खबर
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० का हरिभान साउँद व्यावसायिक रूपमा पशुपालनमा लागेका छन् । ७० लाख लगानी गरेर उनले बाख्रा, कुखुरा, बङ्गुर, माछा, कालिज र बट्टै पालन गरेका हुन् ।
कोरोना महामारीका बेला भएको लकडाउनका कारण पत्रकारिता छोडेर व्यावसायिक रूपमा पशुपालनमा लागेको उनले बताए । ‘सुरुमा मैले बट्टै पालन गरेको थिए पुख्यौली पेसा बाख्रा पालनले मलाई कृषिको सम्भावना देखायो ।’ उनले भने, ‘लकडाउन पछि मैले चन्द्रप्रताप एग्रो फार्म सञ्चालन गरेर व्यावसायिकरुपमै पशुपालनमा लागे ।’
सुरुआतामा चार लाख लगानीमा बाख्रा पालन सुरु गरेका उनले व्यवसाय विस्तार गर्दै अहिले ७० लाख लगानी गरेको जानकारी दिए । ‘बाख्रा पालनबाट कृषिमा सम्भावना देखेपछि मैले व्यवसाय विस्तार गर्दै गए अहिले भैँसीपालनका लागि तयारी गर्दै छु ।’ उनले भने, ‘यो पेशा मैले आत्मसन्तुष्टिका लागि रोजेको हु यसमा टिक्न सक्यो भने राम्रो फाइदा छ ।’
उनको फार्ममा अहिले दुई सय वटा उन्नत जातका बाख्रा, एक सय वटा बङ्गुर रहेका छन् । बाख्रापालनमा राम्रो सम्भावना देखेका उनले बाख्रा पालन बढाएर पाँच सयसम्म पुगाउने लक्ष्य रहेको सुनाए ।
‘अहिले प्रदेश सरकारबाट पनि मैले ४० लाख अनुदान पाएको छु ।’ उनले भने, ‘अनुदानले मलाई सहज भएको छ व्यवसाय विस्तार गर्छु ।’ अहिले भैँसीपालनका लागिसमेत आधुनिक गोठ निमार्ण गरिरहेको उनले बताए ।
‘भैँसीपालनमा पनि राम्रो सम्भावना देखेको छु सुरुआत चार वटा भैँसीबाट गर्छु ।’ उनले भने, ‘विस्तारै २० वटासम्म भैंसीपालन गर्ने लक्ष्य छ ।’ पशुपालनमा थुप्रै समस्या रहेको भए पनि बजार समस्या भने कहिले झेल्नु नपरेको उनले जानकारी दिए ।
‘हरेक बुधबार यहाँबाट काठमाडौं मैली खसी पठाउने गरेको छु अहिले प्रसस्त माग छ ।’ उनले भने, ‘अहिले एकीकृत गरेर पशुपालन गरेको छु स्थानीय तहसँग समन्वय गरेर अन्य किसानलाई समेत अनुदानमा बाख्रा वितरण गरिरहेका छौं ।’ उनको फार्ममा अहिले १० जनाले रोजगारी पाएका छन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij