वेबटिभी खबर
काठमाडौं । चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीकी ११ वर्षीया बिना चेपाङको परिवारलाई राहत उपलब्ध गराइएको छ ।
डिभिजन वन कार्यालयले किरिया खर्चबापत मृतकका परिवारलाई ५० हजार रूपैयाँ उपलब्ध गराएको हाे । शुक्रबार बिहान ६ः३० बजे चितुवाको आक्रमणमा परी चेपाङको मृत्यु भएको थियो ।
सहायक वन अधिकृत काशीराज पण्डितका अनुसार मृतकका बुबा चन्द्रबहादुरलाई किरिया खर्च बापत उक्त रकम उपलब्ध गराइएको हो । वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएकालाई राहतस्वरुप दश लाख दिने प्रावधान रहेको र बाँकी रकम प्रक्रिया पूरा गरेर पीडित परिवारलाई उपलब्ध गराइने उनको भनाइ छ ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइते भएमा पचास हजार रूपैयाँसम्म, सख्त घाइते भएमा दुई लाखसम्म र मृत्यु भएमा अधिकतम दश लाखसम्म उपलब्ध गराउने व्यवस्था छ ।
बन्दीपुरमा केही समययता चितुवाको आक्रमण बढेकाले चितुवा नियन्त्रणका लागि प्रयास थालिएको छ । चितुवालाई डार्टिङ गरी नियन्त्रणमा लिन तालिमप्राप्त प्राविधिकसँग समन्वय गरिएको उनले बताए ।
उनले भने, ‘अहिले तत्कालका लागि उक्त ठाउँमा खोर राखेका छौँ, केही समयपश्चात् तालिमप्राप्त टोली आएपछि डार्टिङ गरेर चितुवा नियन्त्रणमा लिने प्रयास गरिनेछ । यसका साथै स्थानीयवासीलाई सचेत रहन पनि आग्रह गरेका छौ ।’
चाडपर्वका बेला चितुवाको त्रास बढेपछि स्थानीयवासी आतंकित भएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । वडानम्बर १, ३ र ४ मा विगत चार महिनाको अवधिमा चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु भएको अन्य दुईजना घाइते भएका थिए अहिले झन तिहार सुरु भएकाले स्थानीयवासी त्रस्त छन् ।
गत असारमा वडानम्बर १ र ४ मा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको र अन्य दुई घाइते भएका थिए । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाए का र उनीहरु १२ वर्षभन्दा कम उमेरका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij