वेबटिभी खबर
काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले आइतबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेसपाले राजधानीमा पत्रकार सम्मेलन गरी आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलक्षित घोषणापत्र सार्वजनिक गरेको हो । सत्ता गठबन्धनको एक हिस्सा भए पनि नेसपाले छुट्टै घोषणापत्र सार्जवनिक गरेको छ ।
घोषणापत्रमा रहेका मुख्य बुँदाहरू
संविधान संशोधन
राज्यको संघीय पुनर्संरचना– राज्य पुनर्संरचना आयोगको प्रतिवेदन अनुरूप प्रदेशहरूको पुनर्संरचना गरिनेछ ।
आन्तरिक लोकतन्त्र– दलहरूको अन्तरपार्टी लोकतन्त्र सुदृढ गर्न निर्वाचन उम्मेदवारको मनोनयनका लागि सबै दलहरूले सबै तहमा प्राइमरी इलेक्सन गर्नुपर्ने दलीय कानुन निर्माण गरिनेछ ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुख– संघमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेशमा प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख हुने प्रणाली कायम गरिनेछ । एक व्यक्ति दुई कार्यकाल भन्दा बढी राष्ट्रपति/प्रदेश प्रमुख हुन नपाउने व्यवस्था गरिनेछ ।
मन्त्रीमण्डल स्वतन्त्रतापूर्वक गठन– प्रत्यक्ष निर्वाचित कार्यकारीले आफ्नो मन्त्रीमण्डल स्वतन्त्रतापूर्वक विज्ञ तथा राष्ट्रिय जीवनका महत्त्वपूर्ण व्यक्तित्वहरूबाट बनाउन सक्ने व्यवस्था गरिनेछ ।
सांसदको भूमिका विधायकी– सांसद विधायकी भूमिकामा सीमित हुनु पर्ने प्रणाली स्थापित गरिनेछ ।
जनमत सङ्ग्रह– राष्ट्रिय जीवनका महत्त्वपूर्ण सवालहरूमा जनमत सङ्ग्रह गर्ने व्यवस्था गरिनेछ ।
राइट टु रिजेक्ट र राइट टु रिकल– निर्वाचन कानूनमा अस्वीकारको अधिकार (राइट टु रिजेक्ट) र प्रत्याह्वानको अधिकार (राइट टु रिकल) को व्यवस्था गरिनेछ ।
सुशासन र सदाचार
सदाचार ऐनको व्यवस्था– राज्यको तर्फबाट पूर्ण वा आंशिक पारिश्रमिक पाउने गरी सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले पालन गर्नु पर्ने न्यूनतम आचारसंहिता भएको सदाचार ऐन बनाइनेछ । यसको अनुगमन गर्न कानून बनाई राष्ट्रिय सदाचार आयोग गठन गरिनेछ ।
जनलोकपाल गठन– उच्च तहका भ्रष्टाचारजन्य घटनाहरूको समेत छानबिन गरी कारबाही गर्न अधिकार सम्पन्न जनलोकपाल (पब्लिक अम्बुड्जमन) को गठन गरिनेछ ।
संवैधानिक आयोगस विश्वविद्यालय तथा प्रतिष्ठानहरूको पदाधिकारीहरूको नियुक्तिमा दलीय भागबन्डाको अन्त्य गरी पारदर्शी प्रतिस्पर्धात्मक विधि अपनाइनेछ ।
राष्ट्रसेवक कर्मचारीको नियुक्ति लोकसेवाबाट– कर्मचारी, सेना, प्रहरी, सार्वजनिक संस्थान आदि राज्यकोषबाट पारितोषिक पाउने जुनसुकै सेवा र क्षेत्रमा भर्ना, छनौट र नियुक्तिको अधिकार लोकसेवा आयोगलाई मात्र दिइनेछ ।
राष्ट्रिय योजना आयोगको पुनःसंचरना– राष्ट्रिय योजना आयोगको पुनःसंरचना गरी समष्टिगत नीति निर्माण र दिशानिर्देश गर्ने अङ्गमा रूपान्तरित गरिनेछ । क्षेत्रगत योजनाहरू निर्माण र कार्यान्वयनमा मन्त्रालयहरू नै जिम्मेवार हुने प्रणाली अवलम्बन गरिनेछ ।
न्यायालयको रूपान्तरण
एकात्मक चरित्रको न्यायालयलाई संघीय संरचना बमोजिम पुनःसंरचना गरिनेछ ।
संघ तथा प्रदेश तहका न्यायालयहरूमा न्यायधिशहरूको नियुक्ति, सरुवा बढुवाको लागि स्पष्ट वैज्ञानिक मापदण्ड बनाई लागू गरिनेछ ।
विज्ञान र प्रविधिको प्रयोग र अनुसन्धान युगमा नेपाल
अनुसन्धान केन्द्रहरूको सशक्तीकरण– नास्ट, नार्क, राष्ट्रिय अनुसन्धान केन्द्रहरू जस्ता विज्ञान, प्रविधिको विकास तथा अनुसन्धानमा लाग्ने संस्थाहरूको सशक्तीकरण गरिनेछ । न्यानो टेक्नोलोजि, बायोटेक्नोलोजी, स्पेस टेक्नोलोजीको विकासलाई प्राथमिकतामा राखिनेछ । अनुसन्धान, विज्ञान तथा प्रविधि विकासमा आगामी ५, १५ र २५ वर्षमा कुल गार्हस्थ आयको क्रमशः १, २ र ३ प्रतिशत लगानी पुर्याइनेछ ।
समन्वयात्मक अनुसन्धान– औद्योगिक क्षेत्र र अनुसन्धान गर्ने विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरूलाई समन्वयमा अनुसन्धान गरिने व्यवस्था मिलाइनेछ । साथै, विदेशमा रहेका नेपाली वैज्ञानिक तथा प्राविधिकहरूसँग सहकार्य गरी अनुसन्धान गर्ने वातावरण सिर्जना गरिनेछ । विदेशमा रहेका नेपाली वैज्ञानिक तथा प्राविधिकहरूलाई नेपालमा फर्केर योगदान दिने वातावरण प्राथमिकताका साथ बनाइनेछ ।
आर्थिक पूर्वाधार – बैंक तथा वित्तीय संस्थामा सहज पहुँच
उद्यमीहरूहरूलाई उत्पादन मूलक क्षेत्रमा लगानी तथा सबै नागरिकलाई आर्थिक कारोबारमा सहजता प्रदान भएमा मात्र अर्थतन्त्र गतिशील हुन्छ । यसर्थ नेपाली सबैलाई बैंक तथा वित्तीय संस्थामा सहज पहुँच पुर्याउन निम्नानुसार व्यवस्था गरिनेछ :
बैंकिङ सेवा र बीमामा पहुँच– हरेक स्थानीय तहमा वाणिज्य बैंकको कम्तीमा एक शाखा पुर्याउने व्यवस्था गरिनेछ । साथै सहजरूपमा बीमा सेवा उपलब्ध हुने व्यवस्था गरिनेछ । बीमाको पहुँच बढाउँदै पुनःबीमा कम्पनीको वित्तीय क्षमता बढाइनेछ । सबै सहकारी संस्थाहरूलाई समेत बीमामा आबद्ध गरिनेछ । बचत तथा ऋण सहकारीको प्रभावकारी नियमन र सुपरिवेक्षणको लागि बचत तथा ऋण ऐन निर्माण गरिनेछ ।
अनलाइन सरकारी कारोबार– सरकारी कारोबारमा पूर्णतया अनलाइन प्रणाली लागू गरिनेछ ।
लगानीमैत्री वातावरण निर्माण
माथि उल्लेखित कार्यक्रमहरू मार्फत रोजगारी सहितको आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न उच्च लगानी र त्यसको निरन्तरता जरुरी हुन्छ । यसका लागि कूल गार्हस्थ उत्पादनको ३५–४० प्रतिशत उत्पादन मूलक क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ ।
सामाजिक विकास र समन्यायिक वितरण
शिक्षा र स्वास्थ्य निःशुल्क
निःशुल्क गुणस्तरीय उच्च शिक्षासम्म सबै नागरिकको पहुँचको दायित्व राज्यको हुनेछ ।
सबै नागरिकको स्वास्थ्यको सम्पूर्ण दायित्व राज्यको हुनेछ ।
गरिबी निवारण
निरपेक्ष गरिबिको रेखामुनि रहेका परिवारको संख्या क्रमशः शून्यमा झारिनेछ ।
सामाजिक विभेदको अन्त्य
महिला हिंसाको अन्त्य र आर्थिक–सामाजिक सशक्तीकरणलाई प्राथमिकतामा राखिनेछ ।
दलित समुदाय प्रति हुने सामाजिक विभेदलाई पूर्णरूपले अन्त्य गरिनेछ ।
रोजगारी–युवाको मौलिक अधिकार
युवा जनशक्तिलाई सम्मानजनक रोजगारी, ज्येष्ठ नागरिकको सम्मान र व्यवस्थापनमा राज्यको विशेष भूमिका रहनेछ ।
प्रतिबद्धता ५– असहाय परिवारलाई राहत र संरक्षण
सहिद परिवार, बेपत्ता परिवार र विभिन्न संघर्षहरूमा घाइते भएका परिवारहरूलाई सरकारी तथा सार्वजनिक सेवा सुविधामा विशेष सुविधा दिइनेछ ।
अल्पसङ्ख्यक, सीमान्तकृत, लोपोन्मुख आदिवासी जनजातिहरूको ऐतिहासिक बसोबास क्षेत्रहरूलाई विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्रको रूपमा राज्यले संरक्षण तथा प्रवर्द्धन गरिनेछ ।
सन्तुलित क्षेत्रीय विकास
मानव विकास सूचकाङ्कमा कमजोर जाति तथा क्षेत्रको विकासका लागि विशेष कार्यक्रमहरू लागु गरिनेछ ।
घरघरमा गुणस्तरीय खानेपानी
आगामी ५ वर्ष भित्रमा सबै नेपालीका घरमा गुणस्तरीय खानेपानी सेवा पुर्याइनेछ ।
संस्कृतिको संरक्षण र संवर्द्धन कार्यक्रम
ध्यान, योग जस्ता आध्यात्मिक कार्यक्रम– ध्यान योगले मानिसलाई आत्मिक शान्ति प्रदान गर्ने भएकोले यो क्षेत्रको प्रवर्द्धनका लागि मुलुकका विभिन्न स्थानहरूमा ध्यानयोग केन्द्रहरू खोलिनेछ ।
खेलकुद विकास कार्यक्रम–खेलकुदले युवाहरूलाई शारीरिक तन्दुरुस्ती कायम राख्नुका साथै मनमा खुसीयाली पनि ल्याउन मद्दत गर्दछ । अन्तर्राष्ट्रिय स्तरमा पुर्याइने खेलकुदका कार्यक्रमहरूले मुलुकको सम्मान समेत बढाउँदछ । यसर्थ खेलकुद सम्बन्धी कार्यक्रमहरूको प्रबद्र्धनमा विशेष ध्यान दिने नीति लिइनेछ ।
मनोरञ्जनात्मक कार्यक्रम– काम, आराम र मनोरञ्जन, यी तीन चीजहरूले मात्र मानव जीवनलाई सन्तुलमा राख्दछ । तसर्थ संगीत, साहित्य, खेलकुद, चिडियाखाना, पुरातात्त्विक म्यूजियम, विज्ञान पार्क/पुस्तकालय आदिको विकासमा विशेष ध्यान दिइनेछ । यसमा लाग्ने स्रष्टाहरूको विकास तथा सम्मानका कार्यक्रमहरूलाई प्रोत्साहन गरिनेछ ।
संघीय स्तरबाट विकास गरिने रणनीतिक महत्वका योजनाहरू
ऊर्जा
१.पञ्चेश्वर, पश्चिम सेती, माथिल्लो कर्णाली, नल्सिङगढ, बुढीगण्डकी, दुधकोशी जस्ता ठूला जलविद्युत परियोजनाहरूको निर्माण ।
२.पूर्व पश्चिम र मध्य पहाडी लोकमार्गको समानान्तर ७६५ केभीको प्रसारण लाइन, कर्णाली, गण्डकी र कोशी कोरिडोरमा ४०० केभीको प्रसारण लाइनको निर्माण ।
सडक
३.चारलेनको मध्यपहाडी लोकमार्ग, ६ लेनको पूर्व–पश्चिम लोकमार्ग९एशियाली मार्ग०तथा ४ लेनको तराई–मधेशको हुलाकी लोक मार्गहरूको निर्माण ।
४.चीन र भारतको बीचमा गतिशील पुल बन्न सहयोग पुग्ने गरी ४ लेनका सेती–महाकाली, कर्णाली, गण्डकी र कोशी गरी चार वटा उत्तर दक्षिण जोडने लोक मार्गहरूको निर्माण ।
५. काठमाडौं–बीरगञ्ज द्रुत मार्ग (फास्ट ट्रयाक) को निर्माण ।
६. कम्तीमा एउटा मूल लोकमार्गसँग हरेक प्रदेशका राजधानीसँग जोडिने गरी ४ लेनका सडकहरूको निर्माण ।
रेलमार्ग
७. पूर्व पश्चिम लोकमार्गको समानान्तर एक दिनमा मेची–काली यात्रा गर्न सकिने गतिको पूर्व–पश्चिम चल्ने रेल मार्गको निर्माण ।
८. रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी–चितवन–काठमाडौं रेल लुप निर्माण ।
९. काठमाडौं–वीरगन्ज रेलमार्ग निर्माण ।
हवाइ तथा जलमार्ग
१०. काठमाडौं एयरपोर्टलाई अत्याधुनिक सुविधायुक्त अन्तर्राष्ट्रियस्तरको विमानस्थलमा स्तरोन्नति ।
११.निजगढमा अत्याधुनिक सुविधायुक्त अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण ।
१२.पोखरा, विराटनगर, भैरहवा, नेपालगन्ज, सुर्खेत र धनगढीमा एकएक अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण तथा स्तरोन्नति ।
केवलकार
१३.काठमाडौंदेखि सगरमाथा बेसक्याम्पसम्म केबलकार ।
१४.दिपायल–खप्तड–रारा, सुर्खेत–जुम्ला, पोखरा–जोमसोम, विदुर–केरुङ, उदयपुर–ओखलढुङ्गा, धनकुटा–खाँदबारी ।
हिमाली पर्यटकीय पदमार्ग
१५.हिमाली भेगमा पूर्वदेखि पश्चिमसम्मको पदयात्रा गर्न सकिने ‘हिमाली पर्यटकीय पदमार्ग’ को निर्माण ।
सिँचाइ
१६.तमोर–मोरङ डाइभर्सन, सुनकोशी–कमला डाइभर्सन, सुनकोशी–मरिन डाइभर्सन, भेरी–बबइ डाइभर्सन, कालीगण्डकी–तिनाउ डाइभर्सन ।
विशेष औद्योगिक क्षेत्र
१७.हरेक प्रदेशका कम्तीमा दुई स्थानहरू पर्ने गरी २० स्थानहरूलाई विशेष औद्योगिक क्षेत्रको रूपमा विकास ।
खानी उद्योग
१८.फलाम, युरेनियम तथा पेट्रोलियम पदार्थको उत्खनन् तथा विकास ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij