वेबटिभी खबर
महोत्तरी । मिथिला क्षेत्रमा लक्ष्मीपूजाको दिन स्वागतद्वार निर्माणका लागि केराको बोट (थाम) को बिक्री बढेको छ । मैथिली परम्पराअनुसार स्वागतद्वार निर्माणका लागि लक्ष्मीपूजामा केराको बोट प्रयोग गरिन्छ ।
वैदिकालदेखि प्रचलनमा रहेको यो परम्परा मिथिला लोकसंस्कृतिको अभिन्न अंग नै बनिसकेको मिथिला संस्कृति र परम्पराका ज्ञाता जलेश्वर-८ बजराहीका ७० वर्षीय मनोहरनाथ पाठकले बताए ।
केराका थामबाट बनाइएको स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने जनविश्वास छ । आज दिनभर चतुर्दशी तिथी रहे पनि साँझ सूर्यास्तअघि औंशी तिथी सुरु हुने भएपछि आजै लक्ष्मीपूजा गरिन लागिएको हो ।
व्यापारिक प्रतिष्ठानले भने लक्ष्मीपूजाका अवसरमा केराको बोट खरिदका लागि अग्रिम बुकिङ गर्दै आएका छन् । जिल्लाको भङ्गाहा-४ रामनगरका किसान सत्यनारायण यादवले यसपटक २० हजारको थाम बिक्री भएको बताए ।
जिल्लाका मुख्य बजार बर्दिबास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलबा र जिल्ला सदरमुकाम जलेश्वर नगरसहितका बजारचोकमा किसानले बिक्रीका लागि केराका थाम पुर्याएका छन् ।
केराका बोट बिक्रीबाट राम्रो आम्दानी भएपछि तिहार मनाउन सहज भएको भङ्गाहा-६ हतिसर्वाको झपौल बस्तीकी किसान त्रिपुला ठाकुरले जानकारी दिए । बजारमा एकजोडा केराका बोट चार सयसम्म बिक्री भइरहेको छ ।
पर्व सुरु हुनुअघि करिब १० कट्ठामा रोपिएका केराका बोटको नयाँ कोथा बिक्री गरी ३० हजार लिइसकिएको बर्दिबास-९ पशुपतिनगरका किसान रामविनोद महतोले बताए ।
केराका झ्याङ्मा एउटा बोटमा तीन वटाभन्दा बढी भएका कोथा छाँट्नै पर्ने हुन्छ, धेरै कोथा निस्किए केराका कोसा राम्ररी फस्टाउँदैनन्, घरी राम्रो लाग्दैन’, गौशाला नगरपालिका-१० लक्ष्मीनियाँका किसान अरुण कुशवाहाले भने, ‘छाँट्नु पर्ने कोथालाई हामी तिहार पर्खन्छौं ।’
तिहार र छठ पर्वमा जिल्लाभरि गत वर्ष केराका घरी र थामसमेत लाखौं रूपैयाँको कारोबार भएको जलेश्वर उद्योग वाणिज्य संघले जनाएको छ । यसपालि एक साताअघि नै थामसँगै पर्व विशेषकै लागि घरीकोसमेत खरिद बिक्री सुरु भएकाले कारोबार रकम अझै बढ्ने संघका अध्यक्ष लवराजा सिंहको अनुमान छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij