Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सञ्चालनमा आएको एक दशक हुँदासम्म बसपार्कले स्वरुप फेर्न सकेन

सञ्चालनमा आएको एक दशक हुँदासम्म बसपार्कले स्वरुप फेर्न सकेन

  • 284
    SHARES
  • सञ्चालनमा आएको एक दशक हुँदासम्म बसपार्कले स्वरुप फेर्न सकेन

    पाल्पा । हिउँदमा धुलाम्य वर्षायाममा हिलाम्य रामपुर नगर बसपार्क हरेक यात्रु तथा सर्वसाधारण, सरोकारवालाको चिन्ताको विषय बनेको छ ।

    बसपार्क सञ्चालनमा आएको करिब एक दशक हुँदा पनि यसले बसपार्कका रूपमा स्वरुप फेर्न नसक्दा बेलाबेलामा चर्चा र बहस हुने गरिरहेको पाइन्छ । रामपुमा पछिल्लो समय सवारी साधनको संख्या बढ्दै गएका छन् ।

    नमस्ते रामपुर यातायात प्रालिका सञ्चालक भोजराज भट्टराईले अस्तव्यस्त बनेको यहाँको बसपार्क हिउँदमा धुलो उड्ने, वर्षायाममा हिलाम्य भएर आवतजावतमा सास्ती खेप्नु परेको बताए ।

    ‘शहरीकरणतर्फ उन्मुख हुँदै गरेको रामपुरमा धेरै यात्रु आवतजावत गर्ने बसपार्कको अवस्था लाजमर्दो रहेको छ’, उनले भने, ‘यसलाई स्तरोन्नति गरेर व्यवस्थापन गर्नु जरुरी छ ।’ नगर बसपार्क परिसरमा नयाँ टिकट काउन्टर भवनबाट हालै काम सञ्चालन गरिएको छ ।

    सो कार्य सुरुआतका अवसरमा सहभागी सरोकारवालाले विभिन्न ठाउँबाट यात्रु आउने क्रम बढेकाले गाडीबाट ओर्लने रामपुरको पहिलो मुख्य ठाउँ नै बसपार्क व्यवस्थित नहुँदा सकारात्मक सन्देश बाहिर नजाने बताएका छन् ।

    समितिलाई बसपार्कमा आवश्यक पूर्वाधारसहितको संरचना तयार पार्न पर्याप्त बजेट अभावमा चुनौती देखिएको छ । आर्थिक अभावमा बसपार्कले गति लिन नसकेको र यसै आर्थिक वर्षमा नगरपालिकाबाट परेको बजेटले स्तरोन्नतिका कार्यहरू हुने नगर बसपार्क व्यवस्थापन समितिका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

    यसभन्दा अघि नगरपालिकाबाट प्राप्त सानो रकमबाट ठूलो काम नदेखिने भए पनि यहाँ सामान्य संरचनाहरू तयार भएका र त्यसलाई व्यवस्थित बनाउन नसकिरहेको अध्यक्ष श्रेष्ठ बताए ।

    सुन्दर शहरको परिकल्पनासहित अगाडि बढेको रामपुर नगरपालिकामा व्यवस्थित बसपार्क नहुँदा आमनागरिकको चिन्ताको विषय बनेको हुँदा जतिसक्दो स्तरोन्नतिमा सम्बन्धित निकायको ध्यान जानुपर्ने नेकपा एमाले रामपुर-५ का वडा कमिटी अध्यक्ष मीनराज रेग्मीले बताए ।

    सवारी साधन बिसौनी ठाउँ राम्रो नहुँदा वर्षायाममा हिलाम्य भएर गाडी डोजर लगाएर तान्नुपर्ने अवस्थासमेत व्यवसायीले झेलिरहेका छन् ।

    रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले मौलिक शहरका रूपमा विकास गर्नका लागि शहरी विकास मन्त्रालयबाट २६ करोड ७१ लाख बजेट क्रमागत परेकोमध्ये चार करोड २६ लाख रकमबाट बसपार्क व्यवस्थापनका लागि यसै आर्थिक वर्षमा काम हुने बताए ।

    ‘बसपार्कलाई विनियोजन भएको रकम यसै आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने हुँदा अब जतिसक्दो चाँडो व्यवस्थितरूपमा यहाँ आवश्यक पर्ने संरचना तयार हुनेछन्’, नगरप्रमुख थापाले भने ।

    बजार क्षेत्रमा यत्रतत्र पार्किङ गरेर राख्ने, तोकिएको ठाउँबाहेक गाडी मनपरी ठाउँबाट यात्रु चढाउने र ओराल्ने कार्य भइरहेको हुँदा यस कार्यमा सम्बद्ध यातायात व्यवसायी जिम्मेवार बन्नुपर्ने नगरप्रमुख थापाको भनाइ छ ।

    रामपुर बसपार्कबाट दैनिकजसो करिब दुई सय यात्रु अन्यत्र जाने गरेको पश्चिम नेपाल बस व्यवसायी समितिका कर्मचारी नारायण रेग्मीले बताए । बिहान ५ः३० देखि साँझ ६ः०० बजेसम्म नम्बरअनुसार दैनिक सवारी साधन यहाँबाट लामो तथा छोटो दूरीका लागि छुट्ने गर्दछन् । बसपार्कमा बसको ६० र जिपको ४० पार्किङ शुल्क तोकिएको छ ।

    बेझाड बजारको मुख्य चोकमा अस्तव्यस्त रूपमा सवारी साधन पार्किङ गरेर राखिन्थ्यो । जनघनत्व बढ्दै जाँदा यहाँ बसपार्कको अवधारणा ल्याएर सिमलीघारी क्षेत्रमा बसपार्क राख्ने सर्वपक्षीय निर्णय भएपश्चात् २०६९ सालदेखि यहाँबाट सवारी साधन पार्किङ गरी छुटाउन थालिएको हो ।

    रामपुरमा बसपार्क सञ्चालन गर्नका लागि २०६७ मा तत्कालीन नगर विकास समितिले एक लाख ५० हजार रकम उपलब्ध गराएपछि हालको रामपुर नगरपालिका-५ स्थित सिमलीघारी क्षेत्रमा काम थालनी गरी क्रमिक रूपमा बसपार्क निर्माणको काम थालनी गरियो ।

    समितिले पहिलो चरणमा दुई लाख २० हजारको काम गर्‍यो भने दोस्रो चरणमा तत्कालीन वडा नागरिक मञ्चको जिम्मेवारीमा ७५ हजार उपलब्ध भई काम गरियो ।

    त्यसपश्चात् २०७४ को स्थानीय तहको निर्वाचन सकिएपछि नगरपालिकाबाट पाँच लाख रकम विनियोजन गरिए पनि उपभोक्ता समितिले काम नगरेपछि रकम फिर्ता भयो । ०७६ मा नगरपालिकाबाट प्राप्त आठ लाख रकमले बसपार्कको जग्गा वर्गीकरण, झाँडी फँडानी, रूखबिरुवा कटान तथा गिट्टी बिच्छाउने जस्ता काम गरियो ।

    आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाबाट प्राप्त पाँच लाख रकम र जनसहभागिता ९० हजार रकमले यात्रु बस्ने एकवटा ट्रस्टसहित टिकट काउन्टर भवन निर्माणको काम गरिएको छ ।

    रामपुरबाट दैनिक रूपमा सदरमुकाम तानसेन, बुटवल, कावासोती, नारायणघाट, पोखरा, मुग्लिङ, काठमाण्डौं लगायतका स्थानमा सवारी साधन छुट्ने गर्दछन् ।

    पश्चिम नेपाल यातायात प्रालि, नमस्ते रामपुर यातायात प्रालि, श्रृङ्गा  तथा स्थानीय यातायात कम्पनी, गण्डकी यातायात गल्याङ, लेकबेंसी यातायात प्रालि र श्रीनगर यातायात कम्पनीका सवारी साधन यहाँ ओहोरदोहोर गर्दछन् ।

    चार जिल्ला (पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासी सुस्ता पूर्व नवलपुर) को मुटु भनेर चिनिने रामपुर बसपार्क व्यवस्थित नहुँदा यात्रु तथा व्यवसायीलाई सकस भएको छ । बसपार्क व्यवस्थित नभएपछि सवारीधनीले यहाँ गाडी खासै पार्किङ गरेर राख्दैनन् ।

    चारैतिर खुल्ला रहेको हुँदा बजारका छेउ, होटल तथा घरमा लगेर पार्किङ गर्न व्यवसायी बाध्य छन् । खाल्डाखुल्डी, हिलाम्य र धुलाम्य ठाउँमा आवतजावतमा समस्या अर्कोतर्फ चारै दिशा खुल्ला रहँदा यहाँको बसपार्क असुरक्षित बनेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij