वेबटिभी खबर
मुगु । असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण साना जलविद्युत् गृहमा क्षति पुगेपछि कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतविहीन बनेको छ ।
गत असोज १९/२५ गतेसम्म परेको भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका-४ स्थित विद्युत् गृहको ११०० मिटर लामो नहरमध्ये करिब ७०० मिटरमा क्षति गरेको छ ।
यसैगरी, बाढीपहिरोबाट विद्युत् गृहको सवस्टेशनका संरचनाहरूमा पनि क्षति पुगेको छ । बाढीपहिरोले क्षति पुर्याएको नहरको पुनर्निर्माण र मर्मत गर्नुपर्ने छ । नेपाल विद्युत् प्राधिकरणले क्षति पुगेका संरचनाको पुनर्निर्माण सुरु गरिसकेको छ ।
चुनावअघि नै पुनर्निर्माण सम्पन्न गरि विद्युत आपूर्ति गर्ने लक्ष्यका साथ काम भइरहेको छ । साथै वैकल्पिक व्यवस्थामार्फत विद्युत आपूर्तिका लागि प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
उनले भने, ‘पुनर्निर्माणलाई तीव्रता दिने र तत्काल विद्युत आपूर्तिका लागि जेनेरेटर लगेर विद्युत उत्पादनको प्रयास गरिरहेका छौं ।’ भौगोलिक रूपमा विकट मुगु जिल्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुग्न सकेको छैन ।
नेपाल विद्युत प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरि मुगु सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरुमा विद्युत् आपूर्ति गर्दै आएको छ । मुगुकमा विद्युत् सेवा लिने ग्राहकको संख्या ३ हजार १०० रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij