वेबटिभी खबर
रूपन्देही । सरकारले ल्याएको नीतिका कारण रूपन्देहीमा सञ्चालित पाँच वटा स्टिल उद्योग बन्द भएका छन् । स्टिलको कच्चा पदार्थ एमएस ब्लेड तथा स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तःशुल्कमा ल्याएको विभेदकारी नीतिका कारण उत्पादन लागत बढ्दै गएकोले ती उद्योग बन्द भएका हुन् ।
भारत तथा तेस्रो मुलुकबाट ब्लेड आयात गरि फलामे डण्डी बनाउँदै आएका रूपन्देहीका पञ्चकन्या स्टिल, एभरेष्ट रोलिङ इन्डस्ट्रिज, एसआर स्टिल, रत्ना आइरन, फेरो स्टिल र गोयन्का स्टिल पूर्ण रूपमा बन्द हुन पुगेका हुन् । जसकारण उद्योगीका १२ अर्ब लगानी डुबेको छ ।
एसआर स्टिल १ साउन र अन्य चार उद्योग असोजदेखि बन्द भएका हुन् । पाँच स्टिल उद्योग बन्द भएसँगै दुई हजारबढी मजदुरको रोजगारी गुमेको छ । ब्लेड आयातमा ४.७५ प्रतिशत भन्सार दर कायम गरि भन्सार बिन्दुमै प्रतिमेट्रिक टन २ हजार ५०० रूपैयाँ लाग्दै आएको अन्तःशुल्कलाई बढाएर ३ हजार ५०० कायम गरेको छ ।
त्यस्तै एमएस वायरको साविकको ५ प्रतिशत भन्सार महसुललाई वृद्धि गरि १० प्रतिशत पुर्याइएको छ । भन्सार बिन्दुमै लगाइँदै आएको प्रति आठ मेट्रिक टन २ हजार ५०० रूपैयाँ अन्तःशुल्कलाई बढाएर ४ हजार ५०० रूपैयाँ पुर्याइएको छ ।
एसआर स्टिलका सञ्चालक सुरज उप्रेती अन्तःशुल्कमा सरकारको विभेदकारी निर्णयसँगै चर्को बैंक ब्याज, मागमा कटौती जस्ता कारणले उद्योग बन्द गर्नुपरेको बताउँछन् । पञ्चकन्या स्टिलका महाप्रबन्धक देवेन्द्र साहुले सरकारले ब्लेडबाट उत्पादन हुने गुणस्तरीय स्टिललाई प्रतिस्पर्धा गर्न नसक्ने बनाएको बताए ।
चालू आर्थिक वर्षको बजेट आउनु अगाडि नै विभेदकारी अन्तःशुल्क दर सच्याउन माग गरे पनि ठूल घरानियाँसँग मिलेर आफूहरूको माग बेवास्ता गरेपछि उद्योग सञ्चालन गर्न नसक्ने अवस्था भएको साहुले बताए ।
ब्लेड आयात गरि डण्डी बनाउने उद्योगहरूको संख्या तुलनात्मक रूपमा धेरै हुँदाहुँदै पनि सीमित उद्योगहरूको योजनालाई सहयोग पुग्ने गरि सरोकारवाला तथा उद्योगीहरूसँगको छलफल बिना ल्याइएको यो नीतिले नेपालका करिब ८० प्रतिशत डण्डी तथा वायर उद्योगहरूलाई मर्कामा परेको पञ्चकन्या स्टिलका उपमहाप्रबन्धक देवेन्द्र साहुको भनाइ छ ।
स्पञ्ज आइरन तथा ब्लेडबाट छड बनाउँदा लाग्ने कच्चा पदार्थको लागत मूल्यबीचको फरक भन्सार महसुलमै प्रतिकिलो १२ देखि १३ रूपैयाँसम्म महँगो पर्ने उद्योगीहरू बताउँछन् । सरकारको पक्षपाती र गलत नीतिका कारण उद्योगहरू बन्द हुनु दुःखद भएको रूपन्देही उद्योग संंघका महासचिव हरि खत्रीले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij