वेबटिभी खबर
पाल्पा । तिहारमा खेलिने मौलिक देउसीभैलो आजभोलि देखिन छाडेको छ । गाउँदेखि शहर बजारसम्म मौलिक देउसीभैलोको छुट्टै पहिचान र महत्व थियो । बढ्दो आधुनिकतासँगै मौलिकता हराउँदै गएको हो ।
पाल्पामा हराउँदै गएको मौलिक देउसीभैलोलाई निरन्तरता दिन केही समूहले प्रयास गरेका छन् । जिल्लाको लालुपाते नौमती मगर बाजा समूहले यस वर्षको तिहारमा नौमतीको तालमा मौलिक गीतहरू गाएर देउसीभैली खेल्यो ।
‘पश्चिमा संस्कृतिले हाम्रो मौलिकतालाई मेटाउन लाग्यो’, लालुपाते नौमती मगर बाजा समूह तानसेन–७ पाल्पाका जनक थापाले भने, ‘नौमती बाजा बजाएर देउसीभैली खेलेका हौं।’
नौवटा बाजाहरूको सामूहिक बाजा नौमती हो । यो पञ्चैबाजाको ठूलो रूप हो, पञ्चेबाजामा चारवटा अरू बाजाहरू थपिएको हुन्छ । यो समूहले जिल्लाको तानसेनलगायतका आसपासमा मौलिक गीत र नौमती बजाएर देउसीभैली खेलेको हो ।
गाउँदेखि शहर बजारसम्म मौलिक भाका र बाजाको तालमा देउसीभैलो खेल्दै संस्कृति र परम्परा जोगाउने प्रयास गरेको हो । ‘भैलेनी आइन् आँगन, बडालीकुडाली राखन, आहैँ औँसीको बार गाईतिहार भैलीराम’, जस्ता पुराना मौलिक गीत गाएर पुरानो संस्कृति स्मरण गराएका छन् ।
समूहका सदस्य विनोद परियारले भने, ‘यी गीत गाएर देउसीभैलो खेल्दा नयाँपुस्ता आश्चर्य पर्दारहेछन् ।’ मौलिक देउसीभैलोले तिहारमा उत्साह ल्याउँछ । कसैले गीत झिक्ने, केहीले भट्याउने, कोही नाच्ने गर्दा देउसीभैलो हेर्नेको भीड नै हुने गरेको टीकाराम बस्यालले बताए ।
‘हाम्रा चाडपर्वको परम्परा नै परिवर्तन हुँदै गएको छ, मुखैले गीत गाएर देउसी खेल्दाको मज्जा नै बेग्लै हुन्छ’, बस्यालले भने, ‘आजभोलि हाम्रा छोराछोरी कोठामा बसेर नेटमा हेर्छन्, आँगनमा खेलिएको भैलीसमेत हेर्दैनन् ।’
सांस्कृतिक र उज्यालै-उज्यालोको पर्वका रूपमा लिइने तिहारले दाजुभाइ र दिदीबहिनीबीचको मायाप्रेम प्रगाढ बनाउने गर्दछ । मीठा-मीठा परिकार खाँदै देउसीभैली खेल्ने उल्लासमय पर्वका रूपमा तिहारलाई लिने गरिन्छ ।
गाईतिहारका दिन घर-घरमा गएर ‘भैलिनी आइन् आँगन’ भन्दै एकै स्वरमा लय हाल्छन् । जसलाई भैली भन्ने गरिन्छ भने भाइटीकाका दिन गाइने तथा खेलिने गीतलाई देउसी तथा देउसीरे भन्ने गरिन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij