Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कञ्चनपुरका बंगुरपालक किसानलाई बजारको अभाव

कञ्चनपुरका बंगुरपालक किसानलाई बजारको अभाव

  • 311
    SHARES
  • कञ्चनपुरका बंगुरपालक किसानलाई बजारको अभाव

    कञ्चनपुर । कञ्चनपुरका बंगुरपालक किसानलाई बजारको अभाव भएको छ । बंगुरको बजारमा मागभन्दा उत्पादनबढी भएपछि बजार खोज्दै हिँडनुपर्ने अवस्था सिर्जना भएको छ ।

    शुक्लाफाँटा नगरपालिका-१० झलारीमा एक दशकदेखि रिभर साइड पिक एण्ड एग्रो फार्म सञ्चालन गरि बंगुरपालन गर्दै आएकी कलावती भट्टले कोरोना संक्रमण घटेसँगै बंगुरको बिक्रीमा कमी आएको बताइन् । ३ करोड लगानी गरि फार्ममा उनले ४०० वटा बंगुरपालन गरेकी छिन् ।

    उनले भनिन्, ‘वर्षमा झण्डै ५० लाख बढीका बंगुर बिक्री हुन्थे । गएको चैतसम्म तीन लाख मूल्यका बंगुर बेचेका थियौँ । त्यसपछि बंगुर बिक्री हुन पाएका छैनन्, दसैँ, तिहारलगायतका चाडपर्वमा बंगुरको माग अधिक हुने गर्दथ्यो, यस वर्ष माग नै आएन ।’

    उनका अनुसार बंगुरका पाठापाठीको माग सुदूरपश्चिमका नौ जिल्लाबाटै आउने गरेको थियो । मासुका लागि बंगुर काठमाडौंसम्म लैजाने गरिन्थ्यो । यस वर्ष बंगुरको कुनै ठाउँबाट माग नै नआएपछि फार्ममै बंगुर थन्किएका छन् । बंगुरलाई चारोमात्रै खुवाउन हप्तामै एक लाख जति खर्च भइरहेको उनले गुनासो गरिन् ।

    उनको फार्ममा डयुरोक, योकसायर, हेमप्पसायर, पाख्रिवासलगायत उन्नत जातका बंगुर छन् । बंगुरका प्रतिपाठापाठी पाँच हजार र मासु थोकमा ३०० प्रतिकिलोका दरले बिक्री हुने गरेको छ ।

    बंगुरपालक गगनराज भट्टले भने, ‘कोरोनाको संक्रमण बढेसँगै विदेश गएका युवाहरू घर फर्के बंगुरपालनमा लागे । पाठापाठीको त्यसबेला निकै माग थियो । त्यसमै लागे, मासु दानमा कोही लागेनन्, पाल्ने अधिक भएपछि पाठापाठीको उत्पादन अधिक भयो, मागभन्दा उत्पादन बढी भएपछि बिक्री हुन पाएन ।’

    तीन वर्षदेखि बंगुर फार्म सञ्चालन गर्दै आएका जोनापुरका दीपक चौधरीले पनि बंगुर बिक्री गर्न पाएका छैनन् । वैदेशिक रोजगारीबाट फर्केपछि उनले ९ लाख लगानी गरि बंगुर फार्म सञ्चालन गरेका हुन् । उनका फार्ममा ४५ बंगुर छन् ।

    उनले भने, ‘बंगुरका पाठापाठीसहित छवटा बंगुर बिक्रीका लागि तयारी अवस्थामा छन् । चारो, औषधि र रेखदेखमा निकै खर्च भइरहेको छ, खरिदकर्ता नआउँदा निराश छौँ ।’ बंगुर फार्म सञ्चालन गरि अरूले आम्दानी गरेको देखेपछि नेपाली सेनाबाट सेवानिवृत्त भएपछि बंगुरपालन व्यवसायमा लागेको फूलराम चौधरीले बताए ।

    उनले भने, ‘निकै रकम खर्च गरेर फार्म दर्ता गरी सञ्चालन गरेका छौँ, फार्ममा दर्जन बढी बंगुरपालेका छौँ । बंगुर बिक्रीका लागि तयार भएको ६ महिना भइसकेको छ, खरिदकर्ता अझै पुगेका छैनन्, बजार चहार्दै हिँडे पनि खरिदकर्ता पाएका छैनौँ, लगानी डुब्ने चिन्ताले सताउन थालेको छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij