वेबटिभी खबर
सुनसरी । छठपर्व सुरूभएसँगै सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने मरिक समुदायका मानिस छठमा प्रयोग हुने सामग्री बनाउन र बिक्री गर्न व्यस्त भएका छन् ।
इनरुवा सहित हरिनगर, देवानगञ्ज, कोसी, बराहक्षेत्र, इटहरी, धरान, बर्जु, गढी, रामधुनी, दुहबीसहित जिल्लाका विभिन्न स्थानमा रहेका ती समुदायले पर्वका समयमा आवश्यक पर्ने बासको सामग्री बनाउन र बिक्रि गर्नका लागि व्यस्त बनेका हुन् ।
ती समुदायका मानिसहरू छठमा प्रयोग हुने कोनिया, ठाकी, नाङ्लोलगायतका बाँसका सामग्री बनाउन र बिक्री गर्न थालेका हुन् । बाँसको सामग्रीको माग अत्यधिक हुने गरेकाले आफू बाँसको सामग्री बनाउन र बिक्री गर्नका लागि लागेको ती समुदायका मानिसले बताएका छन् ।
गाउँ-गाउँबाट अहिले एक सय ५० देखि दुई सय ५० सम्म बाँस किनेर ल्याई छठमा प्रयोग हुने सामग्री बनाउन लागेको मरिक समुदायहरूले बताएका छन् ।
छठ पर्वमा बाँसकै सामग्री आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिक समुदायका मानिस यो बेलामा राम्रो आम्दानी गर्ने उद्देश्यका साथ बाँसको सामग्री बनाउन र बिक्री गर्नका लागि व्यस्त भएको स्थानीय बिन्देश्वर मरिकले बताए ।
उनका अनुसार छठ पर्व गर्नेहरू प्रत्येक वर्ष बढेकाले आफूहरूलाई बाँसको सामग्री सबैलाई पुर्याउन गाह्रो हुने भएकाले सामग्री बनाउन र बिक्री गर्नका लागि लागि परेका हुन् । छठमा बाँसको सामग्री पुर्याउनलाई आफूहरू महिना दिनअघिबाट काममा व्यस्त भएको उनले जानकारी दिए ।
सो समुदायका मानिसहरूको रोजगार र पेसा नै बाँसको सामग्री बनाउने भएकाले त्यसैमा सक्रिय भइलागेको र त्यसबाट आएको आम्दानीबाट छोराछोरीलाई शिक्षादीक्षा दिने गरेका छ ।
जिल्लाको विभिन्न ठाउँबाट एक सय ५० देखि दुई सय ५० सम्ममा बाँस खरिद गरी सामग्री बनाई स्थानीयको छठलाई सहज पार्ने प्रयासमा आफूहरू रहेको वीरेन्द्र मरिकले जानकारी दिए । चाडपर्वमा बासको सामग्रीको माग अत्यधिक हुने भएकाले बालबालिकादेखि वृद्धसम्म सबै व्यस्त हुने गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij