Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

लास गनिरहेको सरकार 

लास गनिरहेको सरकार 

  • 1.6K
    SHARES
  • लास गनिरहेको सरकार 

    नेपाल यतिबेला कोरोना भाइरसको दोस्रो लहरको चपेटामा छ । पहिलो लहरको तुलनामा दोस्रो लहरको भाइरस थप शक्तिशाली रहेको स्वास्थ्यविद्हरूले बताएका छन् । त्यसको असर नेपालमा दिनहुँ बढिरहेको छ ।

    images

    नेपालमा एकाएक कोरोना संक्रमण फैलिएको होइन । गतवर्ष पनि नेपालका ठूला सहर काठमाडौं, वीरगञ्ज, पोखरा, विराटनगर, नेपालगञ्ज, धनगढीमा कोरोना संक्रमित देखिएका थिए । र, उनीहरूले ज्यान पनि गुमाएका थिए ।

    त्यहीबेलादेखि स्वास्थ्यविज्ञले सरकारलाई कोरोना परीक्षणको दरलाई बढाउन र अस्पतालमा पूर्वाधार थप्न सुझाव दिएका थिए । निजी मात्र होइन सरकारी अस्पतालकै चिकित्सकहरूले मातहत निकायको ध्यानाकर्षण गराएका थिए, तर सरकारी पक्ष भने कोरोना भाइरस नेपालबाट पूर्ण रुपमा हटिसकेको भन्नेमा विश्वस्त थियो । 

    चैतदेखि लगाएको निषेधाज्ञा साउनदेखि घटाउँदै असोज-कात्तिकदेखि खुकुलो पार्दै लग्यो । तर विज्ञले दिएको सुझावलाई बेवास्ता गरेर सत्तारुढ नेकपा नेताहरू व्यक्तिगत स्वार्थ र सत्ताप्राप्तिको घिसिपिटिमै लिप्त भए । फागुन र चैत महिनादेखि संक्रमणको दर तीव्र रूपले बढेको विज्ञहरूको भनाइ छ ।

    सरकारले कुनै तयारी नगर्दा अहिले पशुपति आर्यघाटमा लास जलाउने ठाउँ छैन । अस्पतालरूले अक्सिजन अभाव भएको र सरकारले अक्सिजनको व्यवस्था नगरिदिएसम्म नयाँ बिरामी भर्ना लिन नसक्ने बताइसकेका छन् ।

    aaryaghat..jpg

    अस्पतालमा गएर हेर्दा कोही पनि खुसी देखिँदैनन्, कसैको मुहार पनि उज्यालो छैन । सबै असहाय र एक्लो महसुस गरिरहेका छन्, सरकार कहाँ छ ? भनेर उनीहरू खोजीरहेका छन् । बिरामी र स्वास्थ्यकर्मीलाई सरकारप्रति झिनो आश छ तर पूर्ण विश्वास छैन । जनताप्रति विश्वास दिलाउन सरकार चुकिरहेको छ ।

    कोरोना संक्रमणको त्रासका कारण सुत्केरी र सामान्य अप्रेसनका लागि आवश्यक रगत पनि अस्पतालमा अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटीले विभिन्न संघ, संस्थालाई रक्तदानबाट आएको रगत जम्मा गर्नका लागि भनिरहेको छ । तर घरबाहिर निस्किनमै सकसपूर्ण अवस्थामा सर्वसाधारण रक्तदान स्थलसम्म पुग्न र रक्तदान गर्नसक्ने स्थितिमा छैनन् । यसले गर्दा त्यस्ता बिरामीहरूले सहजै उपचार पाउन नसकिरहेको एकदमै दुःखलाग्दो अवस्था छ ।

    अहिले देशभर झन्डै दैनिक नौ हजारको संख्यामा संक्रमित भइरहेका छन् भने झन्डै पाँच हजार संख्यामा बिरामी निको हुँदै आएका छन् । अर्थात् अस्पतालमा प्रतिदिन चार हजार संख्यामा बेडको आवश्यकता परिरहेको छ भने अक्सिजन सिलिन्डर मागको संख्या गनेर भन्न सकिने अवस्थामा छैन । 

    देशका सबै अस्पतालमा बिरामीको चाप छ । आफन्तको आक्रान्त रोदन हेर्न सर्वसाधारण विवश छन् ।
    बिरामीले अस्पतालमा बेड पाएका छैनन् । अक्सिजनको सिलिन्डर पाउन नसकेर जानाजान मृत्युवरण गर्न विवश छन् । राजनीतिक दलका नेता भने मन्त्रालयमा भागबन्डा खोजिरहेका छन् !

    hos..jpg

    शुक्रबार पाँच बजेसम्म देशभर २१ हजार ४ सय ७८ जनामा गरिएको कोरोना परिक्षणमा ८ हजार ५ सय २० जना संक्रमित फेला परेको तथ्यांक स्वास्थ्य मन्त्रालयले जारी गरेको छ । मन्त्रालयकाअनुसार शुक्रबार ६ हजार १ सय ३५ जना निको भएका छन् ।

    शुक्रबार पाँच बजेसम्म देशभर सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३ सय ३६ जना रहेको छ ।
    शुक्रबार पाँच बजेसम्म पछिल्लो २४ घण्टामा २ सय ३ जनाले कोरोनाका कारणले ज्यान गुमाएका छन् ।
    नेपालमा हालसम्म ४ लाख ३९ हजार ६ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् भने हाल कोरोना निको हुने दर ७५.५ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ । 

    विज्ञहरूले नेपालमा संक्रमणका दर मध्यअसारतिर उत्कर्षमा पुग्ने आकलन गरेका छन् । अझै पनि सरकारले कोरोना संक्रमण रोकथामका लागि तयारी गर्ने केही समय बाँकी छ । अब सरकाले संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या गनेर मात्र बस्नुभन्दा संक्रमण फैलावट नियन्त्रणका लागि राज्यका सबै स्रोत, जनशक्ति र संयन्त्र परिचालन गर्न सक्षम ठहर्नु पर्छ ।

    अहिले अस्पतालमा पर्याप्त स्वास्थ्य सामग्री अभावमा बिरामीले उपचार पाइरहेका छैनन्, यसको जिम्मा सरकारले लिँदै अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव हुन दिनु हुँदैन, स्वास्थ्यकर्मीलाई पीपीईलगायतका अत्यावश्यक सामग्री उपलब्ध गराउनुपर्छ । स्वास्थ्यकर्मीहरूको मनोबल उच्च पार्नका लागि विभिन्न अभीमुखीकरण कार्यक्रम सक्ने र भ्याएको मात्रामा गर्दै लगिनुपर्छ । 

    pashnulas..jpg

    पशुपति आर्यघाट वा उपत्यका नजिकका थप स्थानमा लास जलाउने वा धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गर्ने व्यवस्था मिलाउनु पर्छ । कोरोना संक्रमितको उपचारका लागि भारतको चेन्नाइ सहरमा स्कूलबसका सिटलाई नै बेडको रूपमा प्रयोग ल्याइएको रहेछ, नेपालमा पनि त्यस्तै गर्न सकिन्छ कि त्यसबारे सोच्नुपर्छ । अन्य खुला स्थानमा अस्थायी अस्पताल र बेडको व्यवस्था गर्न पनि सकिन्छ ।

    शुक्रबार मात्र केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएका छन् । लगत्तै पुनः नियुक्त भएका मन्त्रीहरूलाई प्रधानमन्त्रीले देश र जनताप्रति थप जिम्मेवार भएर लाग्न निर्देशन दिएका छन् । भ्रष्टचारमा लाग्नेलाई सरकारले नछोड्ने पनि बताएका छन् । तर विपक्षी दलहरूले सरकारले कोरोनाको खोप ल्याउने विषयमा निजी व्यवसायीले कमिशन माग्दा नेपालमा खोप आउन नसकेको तर्कमा कति सत्यता छ यसको खण्डन या पुष्टि गरेर सक्ने भए खोप ल्याउनुपर्छ नसक्ने भए सार्वजनिक सुचना निकालेर सक्षम कम्पनीलाई ठेक्का दिनुपर्छ । 

    pm oli..jpg

    सरकारलाई निजी व्यवसायीको आवश्यकता पर्छ । सरकार-निजी क्षेत्रको सहकारीताले नै प्रधावकारी काम गरेका बेलायत, अमेरिका, सिंगापुरजस्ता देशका राम्रा उदाहरण हामी लिन सक्छौं । तर नेपालमा चाहिँ चुनावका बेलामा मोटो रकम आवश्यक पर्ने भएकाले सरकारले निजी व्यवसायी पोस्ने र उनीहरूसँग अनावश्यक सम्बन्ध बढाउने दुस्प्रयासले सरकार–जनता भरोसा र विश्वास प्रतिदिन गुम्दो छ ।

    स्वास्थ्य मन्त्रालयले बिहीबार १ सय शय्यामाथिका निजी अस्पतालहरूलाई अक्जिनप्लनन्ट निर्माणको निर्देशन दिएको छ । तर उनीहरूले प्लान्ट निर्माण तत्काल सम्भव छैन भनिसकेका छन् । सरकारी स्तरबाटै पनि अक्सिजन सिलिन्डर ल्याउन विभन्न प्रयास भइरहेको सरकारको आश्वासन छ तर पर्याप्त असिजन जुटाउनै सरकार असफल देखिएको छ । 

    हो, प्रधानमन्त्रीले आफ्नो कुर्सी जोगाउन काम गर्नुपर्छ । तर अरु सबै काम छोडेर कुर्सी मात्रै जोगाउने काम जनताका हितमा हुँदैन । दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र श्रमिकलाई हातमुख जोड्न धौ-धौ पर्दैछ ।

    किसानले फलाएका फलफूल र तरकारी बजारमा बेच्ने व्यवस्था मिलाउन सरकारले सकिरहेका छैनन् । तर बुधबार कृषिमन्त्री पद्मा आर्यालले मन्त्रालयमा भर्चुअल मिटिङ राखेर, ‘हामी कृषकका समस्या फोनबाट सुन्नेछौं,’ भन्नु भो । कम्युनिस्ट सरकारमा बहालवाला मन्त्री अर्यालको यो अभिव्यक्तिमा पहिले–पहिलेका महाराजाहरू, महारानीकै प्रतिबिम्व झल्किएको छ । कुनैबेला प्रजाले महाराज हामीले खानेकुरा सकियो भन्दा ए ल त्यसो भए दालभात मात्रै खानू । भनेजस्तै अत्यन्त गैरजिम्मेवार अभिव्यक्ति दिइन् मन्त्री अर्यालले ।

    कोरोना संकट व्यवस्थापन कार्यदल (सीसीएमसी)ले झिनो प्रयास गरे पनि जनताले प्रत्यक्ष महसुस गर्ने गरी केही काम गर्न सकेन ।

    बिहीबार दिउँसो उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि कुटनीतिक पहललाई तीव्रता दिने क्रममा अमेरिकी राजदूत रेन्डी बेरीसँग टेलिफोन संवाद गर्दै कोरोना रोकथामका लागि आवश्यक भेन्लिटेलर, पीपीई, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको उनले जानकारी गराएका छन् ।

    okhrel..jpg

    बेरीले अर्को सातासम्मा नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामग्रीहरु सहयोग गरिने र के के सहयोग गरिने भन्ने बारेमा आगामी आइतबारसम्म टुंगो लाग्ने उनले बताएका छन् । आशा गरौं ती सामग्री चाँडै नेपाल आउलान् ।

    युरोपियन युनियनले पनि २८ करोड रुपैयाँ बराबरको सहायता उपलब्ध गराउने भएको छ । चीनले पनि २० हजार सिलिन्डर अक्सिजन नेपाललाई सहायता स्वरूप उपलब्ध गराएको छ । भारतले पनि नेपाललाई खोपमा सघाइरहेको छ । प्रवासी नेपाली र गैरआवासिय नेपालीका तर्फबाट पनि यहाँ सहयोग जुट्दो छ । तर यी सम्पूर्ण सामग्रीहरू बिरामीको आवश्यकताको तुलनामा निक्कै कम छ । पूर्वाधारको अभावका कारण उपलब्ध सामग्रीहरूलाई व्यवस्थित रूपले सञ्चालन र परिचालन गर्नसक्ने अवस्था नै अस्पतालहरूको छैन ।

    काठमाडौंमा मात्र हेरर हुँदैन; दार्चुला, बझाङ, हुम्ला, जुम्ला जस्ता कर्णाली र सुदुरपश्चिम प्रदेशका अधिकांश जिल्ला अस्पतालको भौतिक अवस्था एकदमै दयनिय छ । यो हिजो-आजको समस्या मात्र होइन, वर्षौंदेखिकै समस्या हो तर महामारीको वर्तमान अवस्थामा ती अस्पतालले बिरामी धान्नसक्ने अवस्था एकदमै न्युन छ ।

    यी सबै विद्यमान अवस्थाबीच नेपाल सरकारले अब कोरोना संक्रमितको उपचारका लागि सबै स्रोत, साधन र जनशक्ति परिचान गरी नेपालमा कोरोना संक्रमटबाट हुने क्षतिलाई न्युनातिन्युन बनाउन सम्पूर्ण ध्यान केन्द्रित गरिनुपर्छ ।

    तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री ओलीले अब पनि सरकारलाई कसैले काम गर्न दिएन भन्ने बहाना वा सत्यता नै प्रस्तुत गर्छन् भने त्यसप्रति जनताले उनलाई माफी दिने छैनन् ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology