वेबटिभी खबर
पाल्पा । दुई दशकको समय धानखेतीमा बिताएका ज्यामबहादुर राना अहिले भने धानबालीबाट सन्तुष्ट छैनन् ।
रामपुर नगरपालिका कृषि शाखामा माग गरेबमोजिम १८ किलो सावित्री जातको धान करिब चार रोपनी जग्गामा लगाएका उनी सबै धानमा रोग लागेपछि चिन्तित भएका हुन् ।
घर अगाडिको खेतमा लगाएको धानबाली बोटमै सुकेर नोक्सान हुँदा रामपुर नगरपालिका-५ स्थित भम्बक निवासी राना वर्षभरि के खाने भन्ने चिन्तामा छन् ।
‘लामो समय देखि धान लगाउँदै आएको हो, मलजल पनि राम्रै दिइएको भएपनि यो वर्ष धान राम्रो फलेन, परिवार कसरी धान्ने हो ?’ उनले भने, ‘केही फलेका बोट पनि सुक्दै गयो, यस्तो समस्या जीवनमा पहिलो पटक भोग्नुपरेको छ ।’
चार रोपनी जग्गामा राम्रो फल्दा २० मुरीसम्म उत्पादन लिने उनले यसपटक आधा पनि उत्पादन लिन हम्मेहम्मे पर्ने बताए । खेतमा लगाइएका धानबाली पसाउन भन्दाअघिदेखि बोट पहेँलै भएर सुक्दै जाने समस्या विस्तारै खेतभरि लगाइएका धानमा फैलिँदै जाँदा बाला निस्कन नसकेको उनको गुनासो छ ।
सो विषयमा कृषि प्राविधिकसमक्ष क्षतिपूर्तिका लागि जानकारी गराएको रानाले बताए । अम्बिका डोटेलले कृषि शाखा रामपुरबाट ल्याइएको धानको बीउमा समस्या देखिएको बताउँछिन् । उनले राम्रो बीउ पाइन्छ भन्ने आशाले शाखामा नाम टिपोट गरी ल्याइएको बीउमा खराबीका कारण समस्या देखिएको बताइन् ।
‘धान स्याहार्नै नपाइने गरी बिग्रेको छ, धान कुहिने सुइरा मर्ने, भित्रभित्रै रातै हुने, डढ्ने जस्ता समस्या देखिएपछि महँगो मूल्य तिरेर रासायनिक मल प्रयोग गरियो, बाला लागे पनि दाना पोटिला छैन, कुनै बालामा कालो दाग लागेको अवस्था, किसान पनि बाँच्नुपर्यो, क्षतिपूर्ति हामीलाई चाहियो, मलजल, श्रम सबै खेर जाने भयो’, उनले भनिन् ।
यस्तो समस्या रामपुरका विभिन्न ठाउँमा लगाइएका धानबालीमा देखिएको किसानले बताएका छन् । केही किसानले बीउकै खराबीले समस्या भएको दाबी गर्छन् । सोही ठाउँकै हरिमाया गौतमले रामपुर नगरपालिकाबाट ल्याइएको बीउमा रोग लागेपछि ठूलो नोक्सानी परेको बताइन् ।
करिब ९० मुरी धानको उत्पादन लिने उनी यस पटक दश मुरी धान उत्पादन लिन पाइएला या नपाइएला भन्ने दोधारमा छिन् । बालामा दाना राम्रोसँग पनि लागेको छैन भने केही बाला लागेका धान पनि सुकेका छन् ।
गौतमले नगरपालिकाबाट वितरित सावित्री जातको दुई बोरा धान ल्याएकी थिइन् । सो बीउ लगाएका खेतभरि नै समस्या देखिएपछि सम्बन्धित निकायले क्षतिपूर्ति दिलाउनुपर्ने उनको माग छ ।
‘धान खेती गरेरै बुढ्यौलीपन लाग्यो, कहिलेकाहीँ मौसम अनुकूल नहुँदा सामान्य रोग किराको समस्या देखिए पनि अहिले जस्तो खेतभरि लगाएको धान बिग्रने गरी समस्या जीवनमा कहिल्यै भोग्नु परेन, धान लगाउँदा लागेको ट्याक्टर भाडा, मल, गोडमेल गर्दा लगाइएको खेताला सबै खर्च यो वर्ष नउठ्ने हुदा हामी किसान मारमा परियो’, उनले भनिन् ।
धान पसाउने बेलामा परेको निरन्तर अबिरल वर्षाले क्षति पुर्याएपछि यस वर्ष धान उत्पादनमा कमी आउने देखिएको छ । वर्ष दिन खाने अन्नबाली राम्रोसँग स्याहार्न नपाउँदा कसरी पेट पाल्ने समस्या उत्तिकै छ ।
किसानले माग गरेअनुसार रामपुर नगरपालिकाले बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन ललितपुरबाट तोकिएको धान बीउ स्रोत केन्द्रबाट बीउ ल्याएर रामपुरका किसानलाई वितरण गरिएको हो ।
रौतहट चन्द्रपुरस्थित प्रतीक कृषि तथा बीउबिजन सहकारी संस्थाबाट २० हजार ९२० किलो सावित्री, चितवनको किसान मातृभूमि कृषि कम्पनी प्रालिमार्फत चार हजार ५८० किलो ल्याइएको सावाँ मन्सुली जातको धानको बीउ किसानको मागको आधारमा रामपुरमा वितरण गरियो ।
बीउमा समस्या नभई धानबालीमा फड्के किराको प्रकोपका कारण यसपटक समस्या देखिएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए ।
‘किसानको खेतबारीमा स्थलगत निरीक्षण गर्दा बीउमा समस्या देखिदैन, फड्के किराले धानको फेदबाट बालासम्म चुसेर सबै हरियो भाग खाइदिँदा यस्तो समस्या देखिएको हो, वर्षा धेरै भएकाले अहिले धानबालीमा रोग किराको समस्या निम्तियो’, शाखा प्रमुख पाण्डेयले भने ।
समस्या लिएर आउने किसानलाई स्थलगत बाली निरीक्षणपश्चात नगरपालिकाले निःशुल्क विषादी पनि वितरण गरेको उनको भनाइ छ । यसवर्ष रामपुरमा मात्र नभई अन्य छिमेकी पालिकामा पनि विभिन्न रोग किराको प्रकोपले धानमा असर पुगेको कृषि प्राविधिकहरू बताउँछन् ।
पाल्पाको रामपुर, माडीफाँट, हुँगी, अगाहाखोलालगायतका क्षेत्रमा धानबालीमा विभिन्न समस्या देखिएको छ । ठूलै समस्या देखिएको ठाउँमा स्थलगत निरिक्षण गरी आकस्मिक बाली उपचार सेवा दिइएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताइन् ।
रोग किराको पहिचान गरी कार्यालयबाट किसानलाई विषादी उपलब्ध तथा प्राविधिक सेवा दिइएको उनले जानकारी दिइन् । उनका अनुसार गत असोजमा परेको अबिरल वर्षाले धानमा रोगको समस्या देखिएको हो ।
पाल्पामा करिब आठ हजार ६२० हेक्टर क्षेत्रफलमा धान रोपाई गरिदै आइएको छ । जिल्लाको माडीफाँट, अर्गली, रामपुरफाँट, हुँगी, हेक्लाङ्ग, पूर्वखोला, दोभानलगायतका क्षेत्र धान उत्पादको मुख्य पकेट क्षेत्र हुन् ।
साबित्री, हाइब्रिड, रामधान, सावाँ मन्सुलीलगायतका धानका जात जिल्लामा बढी चलनचल्तीमा छन् । रैथाने जात भने यहाँ हिजोआज कमै लगाउने गरिन्छ । उत्पादन बढी लिने उद्देश्यले कृषकहरू उन्नत प्रविधिका धानमा आकर्षित हुन थालेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij